भेरी अस्पताल, नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनका परिवारका ३ महिने छोरा, सासू, जेठानी दिदी गरी ४ जना पौष १५ गते बिहान मृत र अन्य ३ जना बेहोस अवस्थामा फेला परे । त्यस्तै, घटना सुर्खेत तथा काठमाडौंको बागबजारमा समेत घट्यो । चिसो बढेसँगै कोही बाथरुममा, कोही कोठामा त कोहीको सडकपेटीमै मृत्यु भइरहेको छ । यी त हालै घटेको प्रतिनिधि घटना हुन्, यस्ता दुर्घटना लामो समयदेखि जाडो महिनामा हरेक वर्ष घट्ने गर्छन् ।
मेचीदेखि महाकालीसम्म विगत ३ दिनदेखि मौसममा फेरबदल भएको छ र अझै एक सातासम्म रहने पूर्वानुमान जलवायु महाशाखाको छ । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई वर्षा, हिमपात, हुस्सू, कुहिरो र शीतलहरले चिसो बढाएको छ । माघ लागेदेखि तराईमधेशमा घाम लागेको छैन । पानीजस्तै शीतलहर छ । बाक्लो हुस्सू र चिसो हावाले मुटु नै हल्लाइरहेको छ । एक जोर न्यानो लुगा नभएर तथा नपाएर गरिब, विपन्न, असहायहरू परालकै सहारामा छन् । पराल, कोइला, दाउरा बालेर आगो ताप्ने, बस्ने तथा पराल नै ओढेर बाँचिरहेका छन् । उनीहरू वास्तवमा ढुंगेयुगको झल्को दिने दयनीय जीवन जिइरहेका छन् । जलवायु परिवर्तन तथा शून्य प्रतिकार्यले यो हविगत कति दिनसम्म रहने भन्नेमा कसैलाई एकिन छैन ।
तराईको दयनीय अवस्था : देशकै सर्वाधिक जनघनत्व बोकेको तराईक्षेत्र जहाँ प्रतिव्यक्ति आय कम भएका बढी छन्, त्यहाँका मानिसको घर, लुगाफाटा र चालचलन गर्मीसँग जुध्ने खालको छ । त्यस्तै विगतका केही दशकमा तराई केन्द्रित पर्यावरणीय समस्या देखापरेका छन् । जब चिसो र शीतलहर सुरु हुन्छ, तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । एकसरो लुगासमेत राम्रोसँग लाउन नपाउने गरीब जनता त्यसैमा अझ बुढाबुढी बालबालिका र महिलावर्गका लागि चिसो अभिशाप बन्दछ । मधेशमा अधिकांश समय गर्मी हुने भएकाले जाडोका लागि जोहो गरिँदैन, दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूसँग नयाँ लुगा किन्ने क्षमता हुँदैन । भएको एकसरो लुगा पनि शीतलहरले चिसो हुने, घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण पनि कोरा कल्पना बन्दछ ।
हिमपात र शीतलहरले कमजोर तथा विपन्न परिवारमाथि शत्रुपक्षले झैं निर्ममतापूर्वक आक्रमण गरिरहेको छ । गरिब, विपन्न, असहाय पराल, कोइला, दाउरा बालेर आगो ताप्दै ढुंगे युगको झल्को दिने दयनीय जीवन जिइरहेका छन् ।
सचेतनासँगै गरिबी : बर्सेनि तराईमा बाक्लो हुस्सू र शीतलहर फेरि आइपुगेको छ । विभिन्न तहका सरकारको कर्मकाण्ड सुरु भइरहेछ, उही दाउरा, कम्मल र खाद्यान्न बाँड्ने । तथापि अचानक आइपर्ने विपद् नभए पनि प्रभावितको अवस्था ज्यँँका त्यूँ छ । सरकारको तयारी देखावटी भएरै होला, जाडोले सबैलाई प्रभावित गरे पनि असर वर्गअनुसार फरक पर्दछ । जोगिन कोही घुर त कोही गिजर, हिटर प्रयोग गर्छन् । खानपानमा कोही महँगो रक्सी र धुम्रपान त्यस्तै बिक्रेता पनि थरीथरीका र क्रेता पनि कोही महलमा त कोही दानमा निर्भर । कमजोर तथा विपन्न परिवारमाथि शत्रुपक्षले जस्तो आक्रमण गर्छ, विपन्नको विपन्नता उजागर गर्छ । जति बढी गरिब, त्यति बढी असर । तसर्थ, शीतलहरमा मृत्युको प्रमुख कारण गरिबी नै हो ।
अत्यधिक चिसोले रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वास, अपच, पखालाजस्ता पाचन प्रणाली, स्नायु प्रजनन, रक्तसञ्चार प्रणालीलगायतका विभिन्न वातावरणीय, संक्रामक रोगबाट बढी प्रभावित हुन्छन् । चिसो, शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउँछ । ओठ, मुख, हातगोडा एवं कुर्कुच्चा सुख्खा र चिसो हावाले फुटाउने, चर्काउने र घाउ बनाउँछ । जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले योनिद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ । मौसम भोजभतेरको समय भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्राइटिस, झाडा, पखाला हुनसक्छ र जन्डिस र टाइफाइड पनि हुने गरेको पाइन्छ । वाथ, सन्धीवाथ, आमवाथ आदि रोगबाट ग्रसितमा जाडोमा पीडाको बोध अत्यन्त ज्यादा हुन्छ ।
जटिलता : रुघाखोकीले ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी सामान्य संक्रमण गराउने भए पनि ट्राकियाटिस, ब्रोंकाइटिस, ब्रोेंलाइटिस, ब्रोंकोेनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, नाकको राइनाइटिस, साइनाइटिस, कानको एक्युट ओटाइटिस मिडिया, ब्याक्टेरियल संक्रमण, टक्सिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । अध्ययनले जाडोयाममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुन सक्ने पुष्टि गरेको छ ।
शीतांग : परिवर्तित चिसो मौसमी वातावरणको प्रत्यक्ष सम्बन्ध मानिसको शारीरिक तथा मानसिक स्थितिसँग रहने भएकाले मौसम परिवर्तन जनस्वास्थ्य समस्यासँग जोडिने गर्दछ । जब बाक्लो हुस्सू, चिसो वातावरण र शीतलहर चल्दछ तब शरीरको तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम घट्न गई हाइपोथर्मिया हुने गर्दछ । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकुल काम गर्दछ । तर, त्योभन्दा कम भए वा ३० डिग्री सेल्सियसभन्दा कम हुँदा शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शीराधमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ ।
हाइपोथर्मियाबाट बढी पीडित तथा मृत्यु हुनेहरूमा वृद्धवृद्धा तथा नवजात शिशु जो एक ठाउँमा नचली बस्दछन् र एक्लो जीवन बिताइरहेका हुन्छन् तिनमा बढी देखिन्छ भने अन्य घरबारविहीन, विस्थापित परिवारका सदस्य र सडक पेटीमा समय बिताउनेहरू र कमजोर स्वास्थ्य अवस्था तथा रोगको जटिलतामा पनि देखिने गर्दछ । प्रभावित व्यक्तिलाई प्राथमिक उपचार भनेको न्यानोपन नै हो ।
रोकथाम : समाजमा प्रचलित उखान बलिया बांगा बाघलाई, अशक्त बुढापाका माघलाई भन्ने उखानले प्रश्रय नपाउनका लागि शरीरलाई न्यानो बनाउन मानिसले परापूर्वकालीन उपाय जाडोका साथी रुइ, फुइ र दुईमा भर पर्नुपर्ने जरुरी रहेका धेरै छन् । इन्फ्लुएन्जा र निमोनिया खोप महँगो त छँदै छ र लगाए पनि ३० प्रतिशत मात्र पूर्ण सुरक्षा दिने भएकाले खोप लगाएका पनि रोगको जोखिममा हुन्छन् । तातो र न्यानो स्थानमा बस्ने गर्नुपर्दछ । धुलो धुँवा, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्दछ, पटक पटक हात धुने गर्नुपर्छ ।
चिसोका कारण उत्पन्न हुन सक्ने रोगको समस्यालाई न्यून गर्ने तथा लाग्न नदिन भने धुवाँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन ‘सी’ पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्दछ ।
जाडोबाट बच्न पुरै झ्याल ढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टितेल तथा ग्याँसयुक्त हिटर, कोइला र आगो बाल्ने गर्दा कोठाभित्रको अक्सिजन आगोले लिइ दिई, अक्सिजनको मात्रा कम हुँदै जाने समस्या एकातिर हुन्छ भने अर्कोतिर आगोले कार्बन मनोअक्साइड जस्ता विषालु ग्यास बढी हुँदै गई अचेत बनाई थाहै नपाई मृत्यु समेत हुने खतरा बढ्छ, घरमा आगोलागी हुन्छ ।
अन्त्यमा, जिम्मेवारी र कर्तब्यबोध नभएका कारण प्रयाप्त बजेट, साधनस्रोत भए पनि स्थानीय र प्रदेश सरकार केन्द्र सरकारकै मुख ताकिरहेका छन् । निर्वाचनका बेला गाँस, बास र कपासको नारा दिएर भोट बटुल्ने सबै तहका नेता पनि पीडाप्रति बेखबर छन् । लक्षित कार्यक्रम बग्रेल्ति भए पनि कागजमै सीमित छन् । गरिबका नारा दिनेहरू सबै सधैं धनी बनिरहे पनि चिसो र शीत लहरबाट नागरिक जोगाउन र नागरिकलाई ढुंगेयुगबाट उद्धार गर्न उत्प्रेरित होऔं । जाडोबाट बच्ने उपाय तथा झ्याल, ढोका थुनेर आगो नबाल्न, दाउराको सट्टा न्यानो कपडा, हट वाटर ब्याग र कम्मल प्रयोग तथा बाँड्ने जस्ता सन्देश फैलाउनमा गरिबी नदेखाऔं । राजधानी दैनिकबाट साभार

