- सत्या अधिकारी
ममी! “एप्पलको स्पेलिङ भन्नू त छिटो “
साइरा कोठाबाट चिच्याउँदै थिइन् ।
भर्खर पुजाकोठामा छिरेकी उनकी आमा भगवानसँग क्षमा माग्दै बाहिर आइन् र मीठो स्वरमा भनिन् ” एपिपिएलइ।”
शनिबारको दिन नुवाउन भन्दै बाथरुम छिरेकी उनी नुहाउँदै गर्दा बाथरुमको ढोका ढकढकाएको आवाज आयो सोधिन्, छोरा रहेछ, भन्दै थियो मामु !” छिटो नुहाइस्यो है? मेरो प्रोजेक्टमा हजुरको हेल्प चाहिन्छ।” छोराको कुराले दिक्क लागेन उनलाई, झन छाती चौडा भएर पो आयो।
हतारहतार नुहाएर चिसै कपाल लिएर पसिन् छोराको कोठातिर।
छोराछोरीको लागि जैले र जतिबेला पनि सहज हुन्थिन उनी। उनीहरुको लालनपालन र शिक्षा दिक्षामा कुनै कसर राखेकी थिइनन् उनले। साँच्चै उनीहरुको लागि पहिलो पाठ्शालाको गुरु बनेकी थिइन् उनी।
उनले आजसम्म गरेको दुखको प्रतिफल पनि राम्रै हुँदैआएको थियो। छोरी साइराले डाक्टर सकाएकी थिइन्, छोरो इन्जिनियर भइसकेको थियो। आफ्ना छोराछोरी देखेर दङ्गदास थिइन् उनी।
एकदिन उनी भान्छामा खाना बनाउँंदै थिइन्, उनको फोनमा मेसेज आयो हेरिन् । अन्जान मान्छेले अङ्ग्रेजीमा पठाएको रहेछ। बुझ्न सकिनन्, फोन लिएर तल छोरीको कोठामा छिरिन्।
ल्यापटप चलाइरहेकी साइरालाई डिस्टर्ब भएछ कि कुन्नी? आँखा ठुला पार्दै बोल्न थालिन।” ह्या मामु पनि! येस्सो नक नक नगरी कोठामा आइदिने? म ब्यस्त छु गैस्यो बाहिर।”

