मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ८३ पीसीआर परीक्षणमा १ सय ५७ जना र २ हजार १ सय ६४ एन्टिजेन परीक्षणमा १० जना गरी १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय २६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७८ रहेको छ ।
यसैगरी मकवानपुरमा शनिबार २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनाको एन्टिजेन परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार थपिएका २ जना समेत गरी जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ५ सय ५९ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा संक्रमणमुक्त र संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार २ सय ९५ जना पुगेका छन् । जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।

