- गीताश्री शर्मा
“बुवा ! पङ्कज लड्छ है, अलिक याद गर्नुहोस् है ! काम छ, म सकेर आउँछु ।” छोरो पङ्कजलाई हजुरबाको जिम्मा दिएर बुहारी राधा घरको कामतिर लागिन् । चूह्लाको काम सकेर आइपुग्दा नपुग्दा खेल्दै गरेको छुलबुले सानो छोरा डिलबाट झन्डै लड्यो , राधाले च्याप्प समाइन् र भनिन्, “नानी झन्डै लड्यो, बुवा के हेरिरहनु भएको ? ” बुहारी राधाको चर्को वाक्यले एकोहोरो टोह्लाइरहेका मदन झस्के । ससुरा बा ! नातिको पनि वास्ता नगरी त्यसरी एकोहोरो टोह्लाइरहेको देखेर बुहारी छक्क परिन् ।
कालेबुङको सुन्दर गाउँ बमबस्ती। आँगन र मूलदैलो पूर्व पारेर बाटोको छेवैमा बनाएको सुन्दर घर । वरिपरि फूलबारी, आँगनको भित्तापट्टि घुम्ने ठाउँ छाडेर चिटिक्क पारेर बनाइएको तुलसाको मठ । भर्खरै दशैँ-तिहार सकिएको। रातो माटोले पोतिएका गमलामा गोदावरी र मखमली फूल,आँगनको छेउछेउमा सयपत्री फुलेर लहलह थिए । तुलसाको मठ नजिक आकाशदीप बाल्ने बाँसको अग्लो लिङ्गो ठड्याइएको थियो। पत्नी किरणले असारको ठूली एकादशीबाट चौमासा ब्रत लिएर कार्तिकको एकादशीमा पूजा लगाइसके तापनि आकाशदीप बाल्न गाडिएको बाँसको लिङ्गो भने उखेलिएको थिएन।
नाति पङ्कज कहिले त्यही लिङ्गोमा हाराबारा खेल्थ्यो भने कहिले रिङ्गटा लागेर रन्थनिएको बेला हजुरबाको काखमा आएर झ्याप्प बस्थ्यो । हिउँदको कलिलो घामले घर वरिपरि तथा आँगनमा दस्तक दिन थालेको थियो, मदन पनि टुकुर टुकुर हिँड्ने नातिसँग हिउँदका घामै मिठो भनेर आँगनमा घाम तापेर बसिरहेका हुन्थे। तिहारको छुट्टी सकेर छोरो प्रज्ञान जागिरतिर फर्किसकेको थियो । स्टेट ब्याङ्क अफ् इण्डियामा प्रबन्धकको पदमा छ ! नोकरीबाट सेवानिवृत्त मदन हिजोआज पत्नी किरण, बुहारी राधा र नाति पङ्कजसँग घरैमा बस्छन् ।
“ आज हामी कत्रो घटनाबाट जोगियौँ! यो आँगन वरिपरि यसो इँटाले बारेर फलामे गेट लगाउनु भन्दा सुन्दैनन् कसैले ! मेरा कुराले त कसैका कानमा हावा पनि लाग्दैन, बुवा हजुर पनि नाति नहेरेर के के सोचिरहनु भएको थियो ? पङ्कज लडेको भए ?” गनगन गर्दै मदनकी पत्नी किरण पूजा सकेर पतिलाई टीका लगाइदिन थालीमा फूल-टीका र प्रसाद बोकेर आइन्। “हन हौ! यो बूढी पूजा गर्दा पनि गनगनाइरहन्छे, भगवानले पनि के भन्छन् होला !” मदनले शिरको टोपी अलि माथि सारेर निधार किरण पट्टी फर्काएर टीका थापे । पतिलाई टीका लगाइदिएर गोडामा ढोगीवरी तुलसाको मठमा पूजाको थाली राखिन् र पीरा तानेर थ्याच्च आँगनमा बसिन् ।
“प्रज्ञान सधैँ व्यस्त हुन्छ । हप्तामा दुइदिन मात्र घरमा आउँछ । उसलाई के भनौँ !” किरणले आफूलाई मनमा लागेका कुरा पति सामु राखिन्। “भो! भो! गनगन नगर बूढी, यसपालिको पेन्सन आएपछि आफैं इँटा ल्याएर आँगन बार्न लाउँछु । अँ! गेट भने गाडी पस्ने ठूलै राख्नु पर्ला ! अस्ति घर आएको बेला प्रज्ञानले बुहारीसँग ‘अब गाडी नकिनी भएन, घर आउन-जान धैरे गाह्रो भयो, फेरि आमा-बाबालाई पनि डाक्टरकोमा लगिरहनु पर्दछ, भनेको समयमा गाडी पनि पाउँदैन यो ठाउँमा, अझ यो लकडाउन र कोरोनाले फाल्तु टेक्सीतिर हिँड्न पनि डरसरी छ , कुन गाडीमा कस्तो मान्छे बसेको हुन्छ ?’ भन्दै गफ गरेको सुनेको थिएँ । काम भनेको समयमा सोचेर प्लानिङसित गर्नुपर्छ। ” यति भनिराखेर किरण पूजाको थाली टिप्दै भित्र पसिन्। मदन भने लगभग चालीस बयालीस वर्ष पुरानो सुनौलो सम्झनामा डुबुल्की मार्न पुगे ।
मदन कालिम्पोङको कुमुदिनी होम्सबाट बाह्रौं श्रेणी प्रथम दर्जामा उत्तीर्ण गरेर स्नातक तहको पढाइका निम्ति दार्जीलिङ सरकारी महाविद्यालय पुगे, नेपालीमा अनर्स गर्ने भए । मदन बस्तीको साधारण परिवारबाट आएका भए पनि बढो आधुनिक र समय अनुसारका शहरिया भन्दा कम थिएनन्, खाइलाग्दा देखिन्थे। सलक्क परेको जिउडाल, गहुँगोरो अनुहार, हेर्दै बान्की परेका । केटीहरू मदनलाई देखेपछि हुरुक्क हुन्थ्ये । कलेजका युवतीहरू त झन् मदनसँग बोल्न र नजिकिन होड चल्थ्यो ।
मदन प्रायः बाबाको सङ्घर्ष र आमाको आँखाको सपनामा डुबेका हुन्थ्ये। कहिल्यै पनि कुनै केटी साथीहरूलाई नजिकको साथी बनाउने नजरले हेरेनन्। घरको जेठो छोरो भएको हुनाले दुःख र सङ्घर्ष नजिकबाट देखेका थिए। त्यसैले उनको मन पढाइपछि घरमै पुगेर थुरिन्थ्यो । कसरी हुन्छ छिट्टै आफ्नो खुट्टामा उभिएर बाबालाई जेजस्तो भए पनि शान्तिको सास फेर्न दिने कुराले उनको मन चिन्तित देखिन्थ्यो तर बाहिर कसैले यो पीडालाई अनुमान लगाउन सक्दैन थिए ।
स्कूले जीवनदेखि नै कथा र कविता लेख्ने आदत परेका मदन साहित्यमा निकै रुचि राख्दथे। पकेटखर्च उबारेर राम्रा राम्रा साहित्यिक नाम चलेका लेखकहरूका कृतिहरू किनेर पढ्ने गर्दथे । समय पायो कि कलेजको लाइब्रेरीमा पस्थे । फुर्सदमा कथा, कविता लगायत निबन्ध र पढेका पुस्तकहरूको समीक्षा-आलोचना लेख्थे । एकै क्षण पनि आफ्नो समय खेर फालेनन् ! कलेजमा साथीहरू “हाम्रो कालेबुङको देवकोटा” भनेर व्यङ्ग्य कस्थे ।
घरको आर्थिक स्थिति कमजोर थियो, केही गरेर आफ्ना बाबाको काँधमा आइपरेको भारी हलुको पार्न चाहन्थे मदन । उनी समय निकालेर नानीहरूलाई ट्युशन पढाउने काम गर्थे । व्यस्तता र आवश्यकताको कारणले कहिल्यै सुरा, सुन्दरी, तास, जुवा वा कुनै प्रकारको कुलतमा फसेनन्, फस्ने समय पनि पाएनन्, लाग्थ्यो मदनको जीवनमा यो पाटो निर्माण भएकै थिएन। सङ्गीत, नाटक र सांस्कृतिक कार्यक्रममा मन लागे तापनि समयको अभावका कारण कमै कार्यक्रममा सरिक हुन्थे ।
कलेजको हिउँदे छुट्टी थियो, मदन घरमा नै थिए । फुपूका छोरा शङ्कर दाज्यूको डुवर्सकी केटीसित विवाह सम्पन्न हुने तय भयो । मदन फर्साइलो, भाँती पु-याएर शब्दलाई छानीछानी मानौं तौलेर बोल्ने गर्दथ्ये, यसैले होला कतै अर्थको अनर्थ नहोस् भनेर शङ्कर दाज्यू स्वयंले आएर, “ मदन तँ मेरो बिहेमा लोकन्ते भएर जानुपर्छ, ” भनेर विशेष निम्ता दिएपछि मदनले पनि केही नाइनास्ति नगरी जोगाएर राखेको पकेट खर्चबाट कालो सुट बिहेको निम्ति सिलाए। पुरानै जुत्ता पलिस गरेर टल्काए, टाई भने कलेजकै सेतो सर्टमा चिटिक्क परेर जन्ती हिँडे ।
शङ्कर दाज्यूको बिहाको जन्ती टिस्टा, रम्बी, बाघपुल, माङपुङ,आशाबारी हुँदै बाग्राकोटको पनि एउटा सानो गाउँको बेहुली घरमा पुगे ! मदन लोकन्ते भए, भातखौरेहरू अघिनै बेहुलीको घरमा पुगेर परम्परा पूरा गरिसकेका थिए । जन्ती आइपुगेको देखेर जन्ती पर्सिन बोलाइएका घरगाउँलेहरू ओइरिएर आए! बिहा-बटुलो भनेपछि केटाहरू भन्दा केटीहरू ज्यादा उत्ताउला हुन्छन् । जन्ती पर्सिने घरगाउँले, बूढापाका, तरूणतन्नेरीहरूले हातहातमा रातो अक्षता लिएका थिए । तरूण- तन्नेरीहरूले भने बेहुलालाई भन्दा बेसी बेहुलालाई छाता ओढाउने लोकन्ते मदनलाई पो ताकी ताकी हिर्काइरहेका थिए, छाताले छेक्दा पनि मदनको नयाँ सुट रात्तै भएको थियो, मानौँ उनी नै बेहुला हुन्। खाना खाने बेलामा पनि खाने विभिन्न परिकारहरू ल्याएर बेहुलालाई भन्दा मदनलाई थपिदिनेहरूको होड चलेको थियो! ” बेहुला त घरकै हो, लोकन्तेलाई नउम्काओ है ” भन्ने शब्दले सुनमा सुगन्ध थपेको भान भयो ।
रातीको बिहे, बल्ल बल्ल जग्गेमा बेहुली निकाले । स्वयंम्बर पछि परम्परागत कर्मको मेलो चल्दै थियो। मदनका आँखा बेहुलीपटिकी लोकन्तेमा पुगेर टक्क अडियो । पहिरन, जिउडाल अनि रूपमा बिछट्टै सुन्दरी युवतीमा पुगेर मदनका आँखा गाडिए । मदनको जिन्दगीको पहिलो अनुभव हो कुनै रूपयौवना सुन्दरीको सुन्दरतामा मन गाडिएको ! मनमनै सोच्न थाले, “हुनै लागेकी भाउज्यूकी बहिनी पो हुन् कि ? साथी पो हुन् ? ” कल्पनामा परे मदन । आजसम्म कुनै युवतीले मदनलाई यसरी मोहित पारेका थिएनन् । कलेजमा एकसे एक, कस्ता कस्ता साथीहरू छन् तर पनि मदनको मन जित्न कसैले सकिरहेका थिएनन् तर आज एउटी साधारण युवती किन मेरो आँखाबाट ओझेल हुन सकिरहेकी छैनन् ?” यस्तै कति कुराहरू मनमा खेलाउँदै जग्गेमा बसेका दाज्यूको नजिकमा गएर बसे ।
मदनले ती युवतीलाई हेरेर नजर जुधाउन खोजे तर आँखा चार हुन सकेनन्। अब कसरी उनको ध्यान आफूतिर तान्ने त ? विवाह घर, कतै शिलोकेहरू शिलोकको जुवारी खेल्दै रमाइलो गरिरहेका थिए, कतै नाचगान चल्दै थियो, कतै मादल घन्किँरहेको थियो । नौमती बाजाले बेलाबेला विवाह भइरहेको भानदिन्थ्यो । मदन रमझम र नाचगान रुचाउने मान्छे । मदन बेहुलाको छेउबाट उठेर निद्रा भगाउन नाचगान गर्दै गरेको ठाउँतिर लागे । रमाइलो लोकगीतको तालमा नाँच्नेहरूसित मिसिएर नाच्न थाले । मदन नाचेको देखेर सबै नतमस्तक भए । अवाक भए, वाह ! वाह! र तालीको गडगडाहटले सबैको मन त्यतै आकृष्ट भयो । मदन आफ्नै धुनमा मस्त भएर नाचिरहेका ठाउँमा आएर ती सुन्दरी पनि उभिएर मदनलाई हेर्न थालिन् । मदनले चाहेको पनि उही हो, दुबैका आँखा जुधे । मदनको मन रोमाञ्चित भयो । ती सुन्दर युवती पनि लोकगीतको तालमा मदनसित दाँजिएर नाचेको देखेर सबै दङ्दास परे ।
लगनगाँठो र सिन्दूर पोतेको समय भएछ, अचानक खाँडो कस्ले जगाउने ? भन्ने खासाकखुसुक कानेखुसी भएको सुनेर मदनले,” खोइ खुकुरी ल्याओ, म जगाउँछु खाँडो तर खुकुरी चाहिँ सिरूपाते नै चाहिन्छ नि !” भनेको सुनेर सबै आश्चर्यचकित भए! यसो हेर्दा हिजो-आजको आधुनिक ढाँचाको पट्ठो, यस्तो परम्परागत रीतिथितिमा पनि उत्तिकै पोख्त, युवती पनि हेरेको हे-यै भइन् ।
भुकभुके उज्यालो भुइँमा खसिसकेको थियो, मदन बाथरुममा पसेर दाह्री काटे, मुख पनि धोइवरि चियाको खोजीमा किचनतिर पसे । के खोज्छस् कानो आँखो, भाग्यवस किचनमा उनै सुन्दरी चिया बनाउँदै रहिछन् । मदनले यस्तो सौभाग्यको समय त्यसै जानदिएनन्, प्वाक्कै भनिहाले , ” महोदया ! के हामी पनि यहाँका सुकोमल हातबाट चिया-सिया पाउन सक्छौं कि ?” युवतीले मुस्कुराउँदै भनिन्, “यहाँ त बेहुला-बेहुलीलाई मात्रै चिया पाक्छ । बेहुलाको पछि लागेर आउनेहरूका निम्ति त कोनि यसै भन्न सकिन्न ? ” मदन हाँसेर उभिरहे अनि भने, “ कहाँ र कसरी पाउन सकिन्छ त चिया ? कृपया कुनै उपाय बताइदिनुहुन्छ कि महोदया !” “बेहुला बनेर आउनुहोला चिया मात्र होइन सिया पनि पाइहाल्नु हुन्छ नि ! “। युवतीले चिया कपहरूमा हालेर मदनलाई थमाउँदै बेहुला-बेहुलीलाई चिया लिएर मण्डपतिरै गइन् । ती युवती फर्केर आउँदा पनि मदन चूह्लामा बसेर चिया पिउँदै रहेछन् । “नदिने बजै आइतबार बार्छिन् भनिन्छ नि! तर तपाईँले त मलाई चूह्लै पो जिम्मा दिनुभयो त !” मदनको व्यङ्ग्य थियो ।“लोकन्ते पनि छिट्टै बेहुला बन्छन् अरे भन्ने सुनेकी थिएँ, बिहा पो खान पाइन्छ कि भनेर नि ! साइनो गाँसेको ।” यति भनिराखेर युवती मन्दमुस्कान छर्दै मूडा तानेर चूह्लाको छेउमा बसिन् !
मदनले पनि आफ्नो मूडालाई तानेर चूह्लातिर सार्दै भने, ” महोदया ! बातचित त भइरहेको छ अनि भइरहन्छ पनि, कृपया यहाँको शुभ नाम जान्न सक्छु कि ! भन्ने जिज्ञासा राखें ?” “हजुरलाई चियासँग चासो कि नामसँग ।” युवतीले पनि आफ्नो परिपक्वता एवं व्यङ्ग्यात्मकता दर्शाइन् । मदनले पुनः नाम सोध्ने हिम्मतै गरेनन्, हाँसेर टारे।
बेहुली अन्माएर बिदाई गरिसकेपछि युवती पनि बेहुलीसँगै लोकन्ते बनेर गाडीमा चडिन्। ती सुन्दर युवती तीन दिनसम्म बेहुलीकै घरमा बसिन् । मदनले भाउज्यूलाई भेट्ने बहाना गर्दै भए पनि ती युवतीसित नजिकिने कोशिश गरे। गफ गरेर घनिष्टता बढाए । अपरिचित अनुहार र व्यवहार पनि तीन दिनमा निकै चिरपरिचित मात्र होइन आत्मीयतामा परिणत भैसकेको थियो । देवर मदन र आफूसित आएकी साथीको घनिष्टतामाथि भाउज्यूले अड्कल काटिसकेकी थिइन् तर देवरको लोकप्रियता र भलाद्मीपनमा नतमस्तक थिइन्, कुनै प्रतिक्रिया देखाउने जरूरत ठानिनन् ।
नव दुलहीलाई लिएर दाज्यू तीनदिने साइत फर्काउन ससुराली जाँदा ती युवती पनि आफ्नो घर फर्किने नै भइन्, आखिर दुलहीको साथी या लोकन्ते भएर न आएकी थिइन् । मदनको मनमा ठूलो हलचल पैदा भयो । दाज्यू-भाउज्यूसितै कुनै बहाना निकालेर जाने प्रश्न पनि आएन। ती युवतीको मुहारमा पनि अफसोचका रेखाहरू छरपस्ट देखिन्थे। मदनले सोचे, “ नाम चाहिँ पछि भाउज्यू आएपछि सोध्छु ।” भान हुन्थ्यो दुबैजना छुट्टिँदा, दुवैका मनमा मौन प्रेमको बिजारोपण भएको थियो तर एक अर्कालाई भन्न भने सकेका थिएनन्। दाज्यू भाउजूलाई लिएर ससुरालीतिर लागे, मदन आफ्नो घर।
दाज्यूले भाउज्यूलाई सोह्रदिने साइतमा घर ल्याउँदा मदन कलेज फर्किसकेका थिए । मदन स्नातक पास गरेर फर्किंदा पनि ती युवतीको मुहार, मधुर मुस्कान, व्यङ्ग्यात्मक भाषा, गालामा भएको कोठी भने भुल्न सकेका थिएनन् । कलेजको शिक्षा सकेर फर्किएपछि घरको आर्थिकस्थिति सुधार हुन्छ कि भनेर मदन शिक्षण पेशामा जागीरे बने। मदन जहाँ जहाँ जान्थे त्यहाँ त्यहाँ उनले ती युवतीको मुहार खोज्दथे । कतै गुरुमाहरूका अनुहारमा, कति त विद्यार्थी नानीहरूका मुहारमा खोज्दथे, कतै ती युवतीका नानीहरू त होइनन् ? ।
शिक्षण पेसामा लागेको केही वर्षभित्र किरण नाम गरेकी एक सुशील युवतीसँग मदनको प्रेम बस्यो, दाज्यू शङ्करको जस्तो ठूलो नभए पनि परम्परागत विवाह गरे । धर्मकर्ममा धेरै विश्वास राख्ने किरणको कोखबाट एक छोरा र एक छोरीको जन्म भयो । घर गृहस्थी राम्रो चलिरहेको थियो । किरणमा कुनै कमी कमीजोरी थिएन । सानो, सुन्दर र सुखी परिवार थियो मदनको तर पनि हृदयको एक कुनामा बसेको पहिलो मौन प्रेमिकाको मुहार भने पटक्कै भुल्न सकेनन् मदनले ।
आधुनिक सभ्यता, विज्ञानको युग, कम्प्युटर र फोनमा मुछिएको जमाना छ। संसार हातको औँलाले हत्केलामा हेर्न सकिन्छ । मदनको हातमा स्मार्ट फोन छ । नाम याद नभए पनि फेसबुक, टुइटर, इन्स्टाग्राम र भाइवरहरूमा अझै पनि उनले त्यो मन्दमुस्कान, बत्तीसै लक्षणले युक्त मुहार, फोटाहरू मार्फत पहिलो मौन प्रेम खोजिरहे। बिहान-बेलुका फुर्सदमा फोन कोट्याइरहन्थे, कतै ती युवती उनैलाई हेरेर व्यङ्ग्यात्मक रचना प्रहार गर्न पर्खिरहेकी त छैनन् ।
शिक्षण पेसाबाट सेवानिवृत्त भए पनि मदनले तिखारिएको आफ्नो कलम रोकेनन् । सिर्जनात्मक काममा लागिरहे, दुइवटा कथासङ्ग्रह र एउटा कवितासङ्ग्रह प्रकाशित गरिसकेका थिए । पाठकहरू उनीसित सम्मोहित थिए । मदनका रचनाहरू खोजी खोजी पढ्थे, फेसबुकमा निरन्तर लेखिरहने उनको दिनचर्या नै थियो । कहिले लघुकथा, कहिले कविता र निबन्ध उनका प्रियपात्र थिए । उनको फ्रेन्ड फलोइङ्ग सर्कल राम्रो थियो । मदनका रचनाहरू पढ्नलाई पर्खेर बस्ने पाठकहरूको कमी थिएन । गहन क्रिया, प्रतिक्रिया पाउँदा अझ जोश र जाँगर बढेर जान्थ्यो । उनीसँग प्रायः साहित्यमा रुचि राख्ने र साहित्यिकहरू नै साथी बनेर आउँथे ।
यसै क्रममा एकदिन उनको फेसबुकमा एउटी युवतीबाट मित्रताको आग्रह आयो । प्रोफाइल खोलेर हेरे जन्ती गएकै सानो गाउँ, चिटिक्क परेको, देखे-देखेजस्तो घर। डुवर्स, बाग्राकोटको ठेगाना राखेकी सुन्दर महिला, नाम सदीक्षा छेत्री, उमेर त्यस्तै पचास- पचपन्न देखिने अनुहार । गहुँगोरो मुहार, बान्की परेको जिउडाल । सिउँदोमा चट्ट सिन्दूर र निधारमा रातो टीका लगाएकी मदनले नियालेर हेरे, प्रोफाइलमा साना-साना कविताहरू राखेकी पाएपछि मदनले उनलाई साथीको लिष्टमा जोडे । सदीक्षाकै तर्फबाट पहिलो सन्देश आयो, “नमस्कार महोदय! मेरो मित्रताको निम्तो स्वीकारेर मलाई मित्र बन्न योग्य सम्झनु भएकोमा आभार व्यक्त गर्दछु ।”
सदीक्षाको सभ्य, आदरार्थी, परिपक्व र कलात्मक लेखाइले मदनलाई छोयो । उनले पनि नमस्कार, धन्यवाद दिए। साधारण लेखालेखको आदानप्रदान पछि क्रमशः साहित्य लेखन बारे गहन कुरा हुन थाले । शुभ प्रभातका लहरहरू सामान्य हुन थाले । गाउँ र ठेगाना मिलेर हो या अनुहार नै उस्तै भएर हो कि सदीक्षाको शिष्टाचार देखेर हो ! मदनले उनले भुल्न नसकेकी उनै प्रथम प्रेमीकाको मुहार पाएको अनुभव गर्न थाले । धेरैजस्तो साहित्यिक चर्चा, परिचर्चा हुँदा यदाकदा पारिवारिक गफ पनि हुन्थे । त्यस्तै मर्यादाको परिधिभित्र रहेर भावनाहरू साटिन थाले । मदनले सदीक्षासँग बोल्दा वर्षौँदेखि प्रेमभावले छट्पटिएको अतृप्त मन, तृप्त भएको आभास अनुभव गरे ।
मदन आजकल धेरै खुशी छन् , पहिले फोन खोलेर हेर्दा , “शुभ प्रभात मदनजी !” – सँग सदीक्षालाई पाउँथे । प्रत्युत्तर पनि पहिले उनैलाई पठाउँथे । सामाजिक सञ्जालमा मित्रताको लामो समयसम्म पनि उनले त्यो पुरानो कुरा सदीक्षालाई सुनाउन भने सकेनन् वा चाहेनन् ।
साधारण बातचितको सुअवसरलाई उम्कन नदिइकन एकदिन मदनले पुरानो कुरा निकाले । कुनै समयमा त्यस गाउँमा जन्त गएको जुन गाउँको र घरको दृष्य सदीक्षाले आफ्नो प्रोफाइलमा फोटो राखेकी थिइन् । एउटी सुन्दर युवती लोकन्ते भएको र चिया पिउँदाको रमाइलो घटना पनि मदनले जोडेर भने ।
“हजुर उही लोकेन्ते मदन हुनुहुन्छ ?” सदीक्षाले आश्चर्यचकित भएर सोधिन् । “यसको मतलव…. , ” मदन अति भावुक बने । सदीक्षा उनै थिइन् जो मदनको हृदयमा नहराउने भएर लुकेर बसेकी थिइन् । फरक यति थियो उहिलेका मदन र सदीक्षा एवं आजका मदन र सदीक्षा । उनीहरूमा कुन बेला माया बस्यो, पवित्र भएर। जुन मायाले दुवै जनाको घर-परिवारमा थप उज्यालो थपिदियो ।
गान्तोक, सिक्किम
गीताश्री शर्माकाे प्रकाशाेन्मुख कथा संग्रह समयका रेखाहरुमा समावेश गरिएकाे कथा । सं.


1 Comments
milanbohra2@gmail.com
गीताश्रीज्यूका सिर्जनाहरू पठनयोग्य हुन्छन् । बधाई छ।