मकवानपुर । जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजना र मकवानपुरगढी गाउँपालिकाकाे प्रायाेजनमा रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।
आयाेजक आमभञ्ज्याङ युवा क्लब मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी पुस १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएकाे हाे।
प्रतियोगितामा प्रथम हुनेलाई ६६ हजार ६ सय ६६ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई ३३ हजार ३ सय ३३ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राजेश अधिकारीले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाई २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा टिम दर्ता गर्न २ हजार दस्तुर लाग्ने र टिम दर्ता १३ गते दिउँसो ३ बजे सम्म गरिसक्नुपर्ने कार्यक्रम संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताए ।
खेलको टाइसिट पुस १३ गते दिउँसो ४ बजे सार्वजनिक गरिने सञ्जेलले बताए । प्रतियोगितामा करिब १० देखी १४ वटा टिमले भाग लिने अनुमान आयोजकले गरेको छ । प्रतियाेगितामा समावेश हुने टिमका खेलाडी मकवानपुर जिल्ला भित्रकाे मात्र हनु पर्ने आयाेजकले जनाएकाे छ ।

