प्रीति आत्रेय ज्ञवाली
आ-आफ्नै कर्ममा व्यस्त सबै जनहरू यहाँ ।
हुँदा फुर्सदमा बल्ल झुल्किन्छन् सब नै जहाँ ॥१॥
बसी चुपै नियाल्ने छन् कता के पो भयो भनी ।
कतै फेरि भए केही पोस्टिने जन छन् यहीँ ॥२॥
अरूको बाल नै दिन्नन् सर्वोपरि छु झैँ गरी ।
आफूले जो गरेको छ त्यही राम्रो भने सरी ॥३॥
कतै छन् सबका वार्ता बुझ्छन् र हाल हेर्दछन् ।
एकार्काको बुझी भाव टिप्पणी अनि गर्दछन् ॥४॥
कोही ता मौन नै हुन्छन् बोल्ने लेख्ने हुँदैन है ।
देखिइन्नन् बुझी बस्छन् अदृश्य नै भई सधैँ ॥५॥
कोही फेरि कुरा मिल्ने सखासँगै त बोल्दछन् ।
अन्यथा जति जे राम्रो देखिए चुप बस्दछन् ॥६॥
सञ्जालको छ यो चाला बुझेरै चल्नुपर्दछ ।
जो व्यक्ति जसरी बोल्छ उसरी बोल्नुपर्दछ ॥७॥
बात सञ्जालमा जे छ सञ्जालै छोड्नुपर्दछ ।
घरायसी कुरालाई घरमै राख्नुपर्दछ ॥८॥
जसले जे गरे लेखे बोलिहाल्ने नगर्नु है ।
खाएन मनले भन्दै कुनै बात नलेख्नु है ॥९॥
भन्नुपरे कसैलाई राम्रो सन्देशमा हुने ।
व्यक्तिको क्यै कुरालाई किन छर्लङ्ग पार्दिने ॥१०॥
इच्छाविना कसैलाई नगर्नू ट्याग है कुनै ।
इच्छाए यदि आफैँले गर्छन् सन्देश जोड्न नै ॥११॥
बुझेकी यति ता मैले यो सञ्जाल चलाउँदा ।
अरू पनि भए केही टिप्पणी गर्नु है यता ॥१२॥
बुटवल हाल न्होम पेन्ह, कम्बोडिया

