मकवानपुर । पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विहीवार हेटौंडामा एक कार्यक्रमका बिच विमोचन भएको छ ।
मकवानपुरको पत्रकारितालाई पृष्ठभूमिकाल, साप्ताहिक पत्रिकाको विकासकाल, दैनिक पत्रिकाको विकासकाल, रेडियोको विकासकाल, टेलिभिजनको विकासकाल र अनलाइनको विकासकालमा विभाजन गरी पत्रकारिताको इतिहास लेखिएको उक्त पुस्तकको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले विमोचन गरेका हुन् ।
पुस्तक विमाेचन गर्दै प्रदेश प्रमुख शर्माले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने बताए । सत्यतथ्य र निश्पक्षतामा आधारित पत्रकारिता हुनुपर्छ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भने ‘पत्रकारहरुले पेशाप्रति प्रतिवद्ध भई देश र जनताप्रति जवाफदेही बन्नुपर्छ ।’
पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि उठाउनुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको लागि पत्रकारहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई पनि त्यागेर प्रजातन्त्रको सम्बद्र्धन र राष्ट्रियताको जगेर्ना गर्न पत्रकारिता क्षेत्रको विश्वसनीयतालाई जनतासामु पुर्याउन उनले आग्रह गरे । प्रदेश प्रमुख शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ युवा पुस्तालाई पत्रकारिता क्षेत्रको विकासको लागि अग्रसर रहनुपर्ने आवश्यकता रहेको बताए ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अधिकारीद्वारा लिखित मकवानपुरमा मिडिया पुस्तक देशमै संग्रहणीय हुने र अग्रज पत्रकारहरुको योगदानको कदर पुस्तकले गरेको बताइन् ।
पुस्तकमा हालसम्म पत्रकार महासंघ मकवानपुरको नेतृत्व सम्हालेका अध्यक्षहरुको अनुभव, अग्रज पत्रकारहरुको अनुभव, मकवानपुरबाट पत्रकारिता सुरु गरी हाल मकवानपुरबाहिर रही पत्रकारिता गरिरहेका व्यक्तित्वहरुको विषय पुस्तकमा समेटिएको लेखक अधिकारीले बताए ।
उक्त पुस्तकको समिक्षक रामचन्द्र आचार्य फुर्सती, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र पुस्तक प्रकाशक संस्था राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष नवराज न्यौपानेले उक्त पुस्तक सार्वजनिकीकरण गरिएबाट मकवानपुरका युवा जगतलाई पत्रकारिता क्षेत्रको माध्ययमबाट मुलुकमा देखिएको भ्रष्टाचार विसंगती र हिंसालाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौँलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनलगायत मकवानपुरका संचारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

