मकवानपुर । नेकपा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अहिलेकाे गठबन्धनकाे सरकारले काम गर्न नसकेकाे बताएका छन् । गठबन्धनकाे सरकारले काम नसकेकाले जतिसक्दाे छिटाे ताजा जनादेश जनादेशमा जानुपर्ने उनले विहीबार हेटौंडामा प्रेस चौतारी नेपाल,मकवानपुरले गरेको पत्रकार सम्मेलनमा बताएका हुन् ।
‘अहिलेको यो गठबन्धन सरकाले चार पाँच महिनामा राज्यको सबै निकायहरुलाई ध्वस्त बनाएकाे छ’ भट्टराईले भने ‘कार्यपालिका भागबन्डामा छ, आचारसंहिता पालना भको छैन्, बेतिथिहरु बढिरहेको छ ।’ उनले भने– ‘संसदलाई बन्धक बनाईरहेका छन् र न्यायपालिकालाई सरकारले नांगैझार बनाएका छन् ।’ राज्यका सबै अंगमा नकरात्मक परिस्थिति सृजना भएकाेले छिटाे ताजा जनादेशमा जानुपर्छ । नयाँ जनादेश प्राप्त गरेर लोकतान्त्रिक स्थायीत्व निर्माण गर्नुपर्छ ।’ उनले छिटो भन्दा छिटो निर्वाचन गर्नुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे । सचिव भट्टराईले एमाले अब स्थानीय एवं संघीय चुनावको तयारीमा अघि बढेको समेत बताए ।
यसैगरि सचिव भट्टराईले नेपाली कांग्रेस लामो इतिहास बोकेको तर भविष्य नभएको पार्टी रहेको टिप्पणी गरेका छन् । चितवनमा सम्पन्न एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा कांग्रेस नेताहरुले गरेका टिप्पणी अनावश्यक भएको भन्दै उनले कांग्रेस आफैमा भविष्य नभएको पार्टी रहेको दाबी गरे ।
केही दिनअघि हेटौंडामा कांग्रेस नेता गगन थापाले एमालेले आफ्नो विचार नारायणी नदीमा सेलाएको अभिव्यक्ति दिएका थिए । त्यसको जवाफ स्वरुप सचिव भट्टराईले कांग्रेससँग कुनै विचार नभएको दाबी गरे । कांग्रेससँग विचारको डकुमेन्ट समेत नभएको उनले बताए । ‘कांग्रेससँग अहिले कुनै विचार छैन, कांग्रेसको विचारको डकुमेन्ट कहाँ छ ? ’ उनले भने । उनले फरक पार्टीको महाधिवेशनलाई लिएर अरु दलका नेताले टिप्पणी गर्न आवश्यक नरहेको बताए ।
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, प्रदेश कमिटी सदस्यहरु भोजराज ढकाल,दिलबहादुर घिसिङ (फुर्वा),प्रेस चौतारी बागमती प्रदेश सह–संयोजक प्रकाश दाहाल, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) का केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईँ लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी, सचिव योगेश भट्टराईले नेपालका दुईवटा राजनीतिक दलहरु लोप हुने खतरामा रहेको बताएका छन् । अनेरास्ववियु बन विज्ञान अध्ययन सस्थान हेटौँडाको आयोजनामा भएको कार्यक्रममा भट्राईले नेपालमा अब एमाले र कांग्रेसको मात्र ‘पोल’ रहने बताए ।
उनले भने ‘माओवादी र समाजवादीले खाली कांग्रेससँग किन मिल्न जोड गरेका छन भने उनीहरु लोप हुने खतरामा छन्, उनीहरुलाई लोप हुनबाट जोगाउने एमाले मात्र हो, उनीहरु कि लोप हुनुपर्छ कि एमालेसँग समाहित बन्नुपर्छ ।’
पाँच दलीय गठवन्धन अप्राकृतिक रहेको भन्दै उनले यो गठवन्धन राष्ट्रियसभा निर्वाचनपछि टुटने बताए । कांग्रेसले पनि माओवादी र समाजवादीसँग मिल्दा हुने बेफाईदाको महशुस गरिसकेको भन्दै उनले अबको लडाई एमाले र कांग्रेसबिच हुनुपर्ने बताए ।

