मकवानपुर / भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा विशेष कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समेत सन्दर्भ पारेर भ्रष्टाचार विरुद्धको कार्यक्रम गरिएको हो ।
सेवा वापतको आम्दानी मात्रै नभई विभिन्न बाहानामा आम्दानी गरिने अतिरिक्त पैसाले समाजमा तडभडक बढी हुने, परिवारमा समेत अनावश्यक खर्चको दर बढ्ने र यसले अन्ततः हिंसा नै भढाउने भएकोले भ्रष्टाचारलाई पनि हिंसा कै कारण मानिन्छ ।
नागरिक समाज मन्च मकवानपुरले हिंसा उन्मुलनको लागि भ्रष्टाचारमुक्त समाज र राष्ट्र निर्माण हुनुपर्ने ठम्याईको साथ जिल्लाको ३ वटा कार्यालयमा प्रमुख सहित कर्मचारी र सेवा ग्राहीहरू समेतलाई भ्रष्टाचार नगर्ने र नगराउने प्रतिबद्धता हस्ताक्षर संकलन गरेको कार्यालय परिसरमा नै टांसेर राखेको छ ।

नागरिक समाज मञ्च मकवानपुरले डेक नेपालको सहयोगमा बिहीबार हेटौंडास्थित सेवाग्राहीको चाप र आर्थिक कारोबार बढी हुने सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा यस्तो कार्यक्रम गरेको हो । कार्यालय प्रमुख, कर्मचारीहरु, सेवाग्राही र नागरिक अभियान्ताको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुख भक्तबहादुर भण्डारी, सूचना अधिकारी राजु अर्याल, जिल्ला मालपोत कार्यालय हेटौंडाका प्रमुख रामचन्द्र भण्डारी लगायतले सहज सेवा र भ्रष्टाचार विरुद्ध प्रतिबद्दता जनाउँदै आमनागरिक पनि भ्रष्टाचार रोक्न सचेत हुनुपर्ने बताए ।

‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रतिबद्धता सहित कार्यालय प्रमुख, कर्मचारी, सेवाग्राही, नागरिक अभियान्ताहरुले हस्ताक्षर गरी कार्यालयहरुको परिसरभित्र हस्ताक्षरसहितको फ्लेक्स राखिएको छ । कार्यक्रममा नागरिक समाज मञ्चकी संयोजक रमिला सापकोटा, सदस्य प्रकाश खतिवडा, डेक नेपालका मानबहादुर वाईबालगायतले भ्रष्टाचार विरुद्ध सरकारी निकाय जिम्मेवार हुनुपर्ने भन्दै आमनागरिक पनि भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलतासाथ सेवा लिनुपर्ने बताए ।

‘हाम्रो अधिकार, हाम्रो भूमिकाः भ्रष्टाचार नगर्नु, नगराउनु’ भन्ने अन्तराष्ट्रिय नाराका साथ सरकारी कार्यालयहरुसँग समन्वय गरि नागरिक समाज मञ्चले दिवस मनाएको हो । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस हरेक बर्ष डिसेम्बर ९ तारिखमा मनाउने गरिन्छ ।

