शाेभा काफ्ले खतिवडा
१.
गुन बिर्सनेहरू पनि छन् यहाँ आफ्नो काम सबै टरे पछी ।
कसरी गुन गर्न मन लाग्छ गरेको गुन भुलेर बैंगुनी बने पछी ।
स्वार्थले यति विधि पुरिनु पनि साऱ्है नराम्रो हो मानव जीवनमा ,
बाँचुन्जेल कृतघ्न भै तिरस्कार गरेर के अर्थ छ र मरेर सम्मान गरे पछी ।
२.
एउटा असल मान्छे ले नै त रच्न सक्छ सुन्दर संसार ।
बुद्धि र विवेक भएकोले नै त तर्न सक्छ हजार जँघार ।
सुख,दुःख त जीवन बाँच्ने सिक्काका हुन दुई पाटा,
मनको धनी भएकोले नै त गर्न सक्छ असल ब्यबहार ।
३.
घरका असल बाटाहरु सजाएर राख्न मन छ ।
जिन्दगिका पाटाहरु जोगाएर बाँच्न मन छ ।
जीवन यो एकबारको हरपल असल कर्म गरी,
कर्मका हरेक खाटाहरु खुशीसित साट्न मन छ ।
४.
विहानीको न्यानो घामको प्रकाश हौ तिमी ।
रातको अति प्रिय चन्द्रको आभास हौ तिमी ।
प्रकृति र सुन्दरता माझमा मनले रोज्नु पर्दा,
यो मनको सुमधुर,मिठो सुवास नै हौ तिमी ।
५.
जीवनको चौतारीमा घामको उज्यालो छाओस् ।
उमङ्ग अनि जोश र जाँगर सँधै मनमा आओस् ।
मनका कल्मष पोको पारेर नदीमा नै बगाइदिने,
तन,मनमा सत्कर्मको हिम्मत रआँट पलाओस् ।
बिराटनगर

