खुशी कला
१.
दसैँ गयो झिलिमिली तिहार आयो आँगनमा
दिदी र भाइको चाड खुसी छायो आँगनमा
मखमली र सयपत्री ढकमक्क फुलेको छ,
लक्ष्मीलाई स्वागत गर्ने द्वार सजायो आँगनमा ।
२.
स्वदेशको सयपत्रि र मखमली सम्झेर
देउसी भैलोको रमाइलो खलबली सम्झेर
रोजीरोटीको सवालमा दौडनु छ विदेशमा ,
विरक्त परदेशी तिहार झलझली सम्झेर ।
३.
मखमली र सयपत्री पाखाभरी फुलिरहँदा
गैरि खेतमा धानबाला लहलह झुलिरहँदा
याद आयो भाइ मन विरक्त भो तिहारमा पनि,
विदेशमा रोजी रोटीको लागि म डुलिरहँदा। ।
४.
सडक बालबालिकालाई दसैँ, तिहार थिएन
चाडपर्वहरू प्रति अनाथलाई प्यार थिएन
बचपनमै बाबुआमा गुमाउनुको पीडा छ ताजा ,
गरिबको खुसी फर्काउने कुनै उपचार थिएन ।
५.
तिहार आयो आउन पाइन सबै रमाउँदा नरूनु
तस्बिर समाइ टिका माला लगाउँदा नरूनु
बाचा गत साल गरेकै हो तिहारमा आउछु भनी,
देश विदेश कोरोनाको कहर छ हर्ष हराउँदा नरूनु ।
पाेखरा हाल युराेप

