- रामजी चौलागाईं
उनलाई सार्वजनिक भेलामा जान हतार भइसकेको थियोे । प्राकृतिक शरीरमा कृत्रिम रङ भर्न भ्याएनन् उनले । साधारण पहिरनमा आँगनमा निस्किए । श्रीमतीको नजर उनको शिरदेखि पाउसम्म पर्यो ।
क्वारक्वार्ती आँखा डुलाउँदै भनिन्,”सधैं मान्छेका अगाडि तिनै एकै खाले कपडा कति लगाएर जानुहुन्छ । यसो कहिलेकाहीँ त अर्को जोर फेरेर लगाए पनि त हुने नि ।” श्रीमानले हल्का रूपमा लिँदै भने,”कपडामा यति धेरै चिन्ता नलेऊ न । यत्तिका कपडाले चलिहाल्छ नि ।” श्रीमतीको मन बुझेन ।
उनले भनिन् ,”अहिले त्यही ठाउँमा अरू मान्छे सुट ,टाई र मयलपोसमा सजिएर आउँछन्। तपाईं भने….। मान्छेले खाएको देख्दैन, लाएको देख्छ । मान्छेको इज्जत राख्ने नै कपडा हो । बुझ्नु भो ?” लगाउने कपडाको बारेमा श्रीमतीसँग भएको बहसलाई उनले खै कसरी बुझे। उनी एकछिन टोलाए । एकछिन झोक्राए अनि फिस्स हाँस्दै उनले भने ,”कहिल्यै बाघको छोरो स्याल र स्यालको छोरो बाघ हुन सक्छ ? मान्छेको हुर्मत कपडाले राख्छ कि व्यवहारले, प्रिय ?”
भीमेश्वर नगरपालिका ४, दोलखा

