मकवानपुर । आज (शनिबार) ८ पालिकामा एमाले मकवानपुरको अधिवेशन हुँदैछ । गत कात्तिक ९ गतेको लागि तोकिएको एमाले अधिवेशन मकवानपुरमा भने आजको लागि सारिएको थियो ।
जिल्लामा कात्तिक ९ गते नै उद्योग वाणिज्य संघको निर्वाचनको कार्यक्रम रहेकोले अधिवेशन आजसम्मलाई सारिएको जनाइएको छ । आज जिल्लाका १० वटा स्थानीय तहमध्ये ८ वटा पालिकामा एमाले अधिवेशन हुने भएको एमाले मकवानपुरले जनाएकाे छ । हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकामा एमाले अधिवेशन हुने भएको हो ।
जिल्लाको २ वटा पालिकामा भने अधिवेशन सम्पन्न भइसकेका छन् । शुक्रबार कैलाश र विहीबार राक्सिराङ गाउँपालिकामा एमालेको पालिका अधिवेशन सम्पन्न भएको हाे । शुक्रबार कैलाशमा भएको अधिवेशनबाट पुण्यप्रसाद भण्डारीलाई पार्टीको गाउँपालिका कमिटी अध्यक्ष मा सर्वसम्मत चयन गगरिएको छ । भण्डारीको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो ।
यस्तै, एमाले राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सिहराम रुम्बा (रोहन) चयन भएका छन् । पार्टीको विहीबार भएको अधिवेशनबाट रुम्बाको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका सदस्यीय सर्वसम्मत चयन भएका हुन् ।
वडा अधिवेशनमा सहभागी भएका १० हजार ५ सय सङ्गठित सदस्यहरूले छानेका प्रतिनिधिहरू पालिका अधिवेशनमा सहभागी हुने पार्टीले जनाएकाे छ । नेकपा एमालेले पालिका अधिवेशनबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट ८५ सदस्यीय नगर कमिटीलाई नेतृत्व प्रदान गर्नेछ भने, थाहा नगरपालिका र ८ गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन हुने एमाले जिल्ला अध्यक्ष बद्री लम्सालले बताए ।
यसैबीच हेटौंडा उपमहानगरपालिको अधिवेशनलाई एमाले नेता लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मकवानपुरगढी गाउँपालिकाको अधिवेशनलाई एमाले नेता बागमती प्रदेशको पूर्व मुख्यम्रन्त्री डोरमणी पौडेलले र थाहा नगरपालिको अधिवेशनलाई एमाले नेता पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले मकवानपुरे जानकारी दिएकाे छ ।
यसैगरि पूर्वी मकवानपुरको बागमती गाउँपालिको अधिवेशनलाई एमाले नेता पूर्व खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले र बकैयाको अधिवेशनलाई एमाले नेता एवं प्रतिनिधिसभाको अर्थ समितिको सभापति कृष्ण दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

