
झरना पराजुली
हल्का मनलाई गह्रुङ्गो बनाउन दसैँ आउँछ
बिर्सिककेको पीडा सम्झाउन दसैँ आउँछ
अरुबेला त सधैँभरि खुसी थिएँ तर यहाँ
जुन सालपनि मलाई रुवाउन दसैँ आउँछ ।
लमजुङ

पुष्पा नेपाल सुवेदी
हरेकसाल जस्तै दसैँ आउँछ जान्छ बिरानो मुलुकमा
गाउँघर सम्झेर मुटु कुटुकुटु खान्छ बिरानो मुलुकमा
टीका,जमरा र आशिर्वाद बुबाआमासँगै गाउँमा रह्यो
बेच्दाबेच्दै जवानी कतिबेला कालले लान्छ बिरानो मुलुकमा ।
ईलाम

राम श्रेष्ठ ‘प्यासी’
दशैं आयो भन्छन् है भान्छामा राशन छैन
दशमीमा टीका लाउन नि राम्रो आशन छैन
यो मेरो दोष हो वा मेरो भाग्यको दोष भनुँ
खासमा त गरिबको भलाई हुने शासन छैन ।
भानु-३, दोरदोर तनहूँ

सुन्दरी घिमिरे खतिवडा
दसैँ आयो शरद ऋतुसँगै,दुर्गा भवानीको पूजा गरौँ सबैले
फूलपातीको बडाईँ गर्दै फूल, अक्षता, जमरा भरौँ सबैले
लिङ्गे पिङ,रोटे पिङमा बालबच्चा रमाउन् खेलेर हाँसेर
सुख शान्ति छाअोस् सबै घर घरमा भन्ने भावना छरौँ सबैले।
खाँदबारी, संखुवासभा

भवानी तिमल्सिना न्याैपाने
पखालेर मनको मैलो नासी आवोस वडादशैँ
रिस, राग ,द्वेष फाँडी मासी आवोस वडादशैँ
सँगालेर मुटु भरी आफन्तको माया सद्भाव
सबै सँग चोखो माया गाँसी आवोस वडादशैँ ।
हेटाैडा मकवानपुर

