- रञ्जुश्री पराजुली
दसैं प्रत्येक बर्ष आउने भए पनि प्रत्येक पल्ट उत्साह,उमङ्ग, जोश ,जाँगर बटुलेर आउँछ। नयाँलुगा लाउने, मीठो खाने, मान्यजनहरुसङ्ग दुर्गामाताको प्रसाद स्वरुप रातो दहीचामलको टीका निधारमा र पहेँलो जौको जमरा सिरमा लगाउँदा सबैको मन प्रश्न्न हुन्छ । टोल छिमेकमा मालसिरीको धुन गुन्जिन थाल्छ। बघैचामा पहेँला सयपत्री फुल फुल्ने तरखरमा देखिन्छन् ।
उमाका तीन छोरीहरु लगातार जन्मिए । जेठी एघार, माहिली आठ र कान्छी दुई । बुहारीले यसरी लघातार छोरी जन्माएको सासुलाई र उन्कै बुढालाई पनि मन परेको थिएन । छोरा नजन्मनुको दोष कस्को थियो त्यो उनीहरुले जाँचबुझ गरेका थिएनन् । सासुआमाले जान्ने मान्छे देखाउँदा अझ दुईटा छोरी जन्मे पछि मात्र छोराको योग परेको छ भनेकोले वंश अगाडि नबढ्ने भयो भनेर उनीहरु चिन्तित थिए ।
हजुर आमा “तिमीहरु लगात्रा तीनजना किन जन्मिएका ? छोरीको जात काम छैन । बिहे गरेर पराई घर जाने जात । तिमीहरुको बिहेमा पनि दाइजो सहित खर्च धेरै लाग्छ । छोराको बिहेमा त दुलही पट्टीबाट दाइजो आदि प्रशस्त आउँछ” भनेर नातिनीहरुलाई सुनाई राख्दथीन् । सानी छोरी त त्यो बुझथिन तर जेठी र माइलीलाई भने उनी देखि रिस उठ्दथ्यो । सकेसम्म उनको अगाडि नै पर्दैन थिए ।
त्यस्तै पल्लाघर्की हजुराअमा पनि थिइन् । उनी “कति छोरी जन्मिएका ।अब भाइ बोलाओ” भन्दै थिइन् । उनीहरु तिनलाई देख्दा टाढैबाट बाटो छलेर हिडथे । दसैंको जमरा राख्ने दिनको अघिल्लो दिन बिहानै उनी हाम्री हजुराआमासङ्ग” भोलिदेखि नौ दिन सम्म कन्यापुजा गर्नुपर्छ । महालक्षी, महाकाली, महासरस्वती जस्ता तपाईका तीन नातिनीलाई सधै बिहान आठ बजे मेरो घरमा पठाई दिनुस् है । म तिनको पुजा गर्छु ।” जेठी नातिनी रियाले त्यो सबै सुनी रहेकी थिई। उस्लाई झन्क्क रिस उठ्यो अनि ” छोरी जन्माउँन हुन्न भन्दै हामी तीनजना दिदीबहिनीलाई छिछी दुर्दुर गर्ने तपाईलाई अहिले हाम्रो कसरी आवश्यकता पर्यो ? छोरी जातिको अपमान गर्ने तपाईको घरमा अवदेखि कुनै छोरीले दुर्गा बनेर पनि पाइला हाल्ने छैनन् ” भनी ।
टेक्सस अमेरिका

