
पबित्रा चाम्लिङ
बर्ष दिनको चाडमा खोजेर मिली,खानु पर्छ दसैंमा
मान्यजनको हात बाट टीका थाप्न,जानु पर्छ दसैंमा
हुने खानेले घोडा चढुन्, नहुनेको पनि गोडा सरुन्
आ-आफ्नो औकात को कोसेली,लानु पर्छ दसैंमा।
खोटाङ

शान्ती अर्याल अधिकारी
१.
खेतहरुमा लहलह धानका बाला झुलेको देख्दा
रोकिएर लामो बर्षा निलो गगन खुलेको देख्दा
आँहा ! साच्चै दशै आए झै रमाईलो लाग्थ्यो,
भन्ज्याङ तिर पिङ् राखी सबैजना भुलेको देख्दा ।
२.
रहर हुँदा हुँदै पनि चाडबाड मान्न गाह्रो भयो
महङ्गी छ उस्तै हजुर खर्च धान्न गाह्रो भयो
कहिले उठ्न सक्ला खै ? जनताको जिवनस्तर
मर्का बुझ्ने को छ यहाँ ? नेता छान्न गाह्रो भयो ।
पाल्पा, हाल पाेर्चुगल

निर्मला सुनार
फाटेकाे लुगा काटेको मनलाई के चाडपर्व अाउँछ
भाग्यमा पनि सधै भरि किन खै दु:खले मात्र छाउँछ
न अामाकाे चाेली फेरियो न मिठाे जुटाउन सकियो
बनेर दशा रुवाउछ गरिबीले दशैमा हर्ष कहाँ पाउँछ ।
वर्दिया

खुशी ‘कला’
दसैं उत्साह बोकी आयो भन्छन खुसी हुनैपर्यो हजुर
गाउँघर शहर बहार छायो भन्छन खुसी हुनैपर्यो हजुर
बालापनको जस्तो त्यो दसैँ तिहार भेटिन अहिले कतै,
र पनि उमङग सबैतिर छायो भन्छन खुसी हुनैपर्यो हजुर ।
लेखनाथ, कास्की हाल जर्मनी

लक्ष्मी नेपाल
आखिर सबैको उस्तै होनि मन ल्याउनु पर्छ
मनाउँने तरिकामा थोरै परिवर्तन ल्याउनु पर्छ
चाड पर्व ऋण गरि तामझामले मनाउँनु भन्दा
सबैले घाँटि हेरि हाड निल्ने चलन ल्याउनु पर्छ ।

