मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज असेाज २४ गते आइतबार विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हाे ।
अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाक्यले विश्वासको मत लिन लागेकी हुन् । नेकपा एमाले पार्टीभित्रको विवादमा माधव नेपालाई साथ दिँदै आएकी शाक्यलाई पार्टी विभाजन हुँदा नेपाल पक्षकाे साथ टुटाउन एमाले अध्यक्ष केपी ओली खेमाले हतारमा मुख्यन्त्री नियुक्त गरेको थियो । बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेललाई राजिनामा गर्न लगाएर गत भदाै २ गते राती मुख्यमन्त्रीकाे सपथ लिएका शाक्यले भने पार्टी जाेगाउन मुख्यमन्त्री स्वीकार गरेकाे बताउँदै आएकी छिन् ।
बागमती प्रदेशमा कुल १ सय १० जना सांसदमध्ये एक सिट रिक्त छ । कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो । हाल बागमती प्रदेशसभामा १ सय ९ जना सांसद छन् । बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जनामात्रै सांसद छन् । त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था देखिदैन ।
शेर बहादुर देउवा नेतृत्वकाे गठबन्धनले बागमती प्रदेश र प्रदेश १ मा नेकपा एस लाई मुख्यमन्त्री दिने सहमती गरेर संघीय सरकार विस्तार गरेकाे छ । अहिलेकाे गठवन्धनले शाक्य नेतृत्वको बागमती प्रदेश सरकारकाे विकल्पमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएका छन् । एकीकृत समाजवादीका पाण्डेलाई सत्तारुढ गठबन्धले मुख्यमन्त्री बनाउने सहमती गरि सकेकाेले राजनीतिक उथलपुथल नभएमा बागमती प्रदेशमा पाण्डे तेस्राे मुख्यमन्त्री बन्नेछन् ।

