आचार्य प्रभा
१.
रुनलाई पनि मिठो साथ चाहिन्छ कसैको
आश्वासनको न्यानो धाप चाहिन्छ कसैको
आँखाहरुले झरी दिनु त हो झर्छन् बेस्सरी
दुखेको मन सम्हाल्न हात चाहिन्छ कसैको।
२.
सुस्तरी आउनु सपनीमा परेली खोली राखुँला
मिठास भर्दै सपनीमा ईश्वरलाई बर्दान मागुँला
बिपनीको भेट्भन्दा पनि सपनी नै मिठो हुन्छ
जीवनभर नछुट्ने कसम देवको अघी भाकुँला।
३.
कति बेदनाहरु मनभित्रै लुकाएर बस्नु पर्छ
बग्ने आँसुहरु आँखाभित्र सुकाएर बस्नु पर्छ
दुख,पीडाले भरिएको छ संसार नै आज हेर
आईपरेको नियतिसँग शीर झुकाएर बस्नु पर्छ।
४.
भाग्य लेख्ने अक्षरहरु कस्ता हुन्छन् ?कोही त बताउ
यदि लेखिएकै अक्षरहरु गलत भए परिश्रमले सच्याउ
नत्र किन दिन्छौ?भाग्यलाई दोष,लेखिएको यस्तै भन्दै
अड्कलबाजीको भरमा निर्दोष अक्षरलाई दोष नलाउ ।
५.
कोही पुगे चंन्द्रमा टेक्न हामी जातमा लड्दैछौं
एकार्कालाई जुझाउँन मात्र हामी अघी बड्दैछौं
यतिबिघ्न संकट्मा नि चेत कहिल्यै नआउँने भो
एकै देशका सन्तान हामी काँडा बनी गड्दैछौं।
झापा, हाल अमेरिका

