- नवराज शर्मा
सधै साँझ नपर्दै आइपुग्ने नातिनीहरू अबेर रात पर्दासम्म आइपुगेनन्। चिन्तामणि चिन्तामग्न भए। बुढीतिर हेरे। खुइय साँस फेरे। धेरै बेरसम्म आमाबुबा जाग्राम बसेको देखेर छोरा बुहारीले भने ” होइन सुत्ने बेला भएन ? जानुस, सुत्नुस। अनिदो भए सन्चो हुँदैन। ”
“खोइ नातिनीहरू अहिलेसम्म आएनन्। समय खराब छ। कहाँ गएका होलान् ! ” ” सारा संसारमा महिलाहरु काम गर्न, काम विशेषले एक्लै बाहिर निस्कनछन्। यहाँ मात्र हो र ?” ” सुरक्षित ठानिएका विकसित मुलुकमा त महिलाहरु सुरक्षित छैनन्। झन् यहाँ ! ” ” त्यहि त ! दुर्घटना दरमा अरु मुलुक शिखरमा छन्। हामि काँ त सूचकांक कति कम कति कम। सुन्नु भा’ छैन, चिन्ता लिनु पर्दैन भनेको ? खोइ कुरा बुझ्या ! ”
” बुझें बा ! बुझें । ” भन्दै बुढाबुढी सुत्न गए। भोलिपल्ट त्यस घरका लाले लाली घाम ताप्दै गफ गर्दै थिए। ” होइन हाम्रा छोरीहरु कहाँ बाहिर भुस्याहाहरुसँग बरालिरहेका ! दिन समय खराब छ। कुरै बुझ्दैनन् बा ! ” लालीले एकफेर रिसाएर लालेलाई हेरी । ” आ ! हजुर पनि ! हामी जनावरमा कहिले कसैले जबरजस्ती गरेको वा भएको देख्नु सुन्नु भा’ छ ?
“एकछिन गम खाइ ‘के भा’ को हो बुढालाई ! मान्छेको संगतमा भएर हो कि मान्छे जस्तै सोच्न लाग्या छन्। “अनि लालेले सुन्नेगरी कराइ ” अचेल मान्छे त हामी जस्तै सोच्ने भइसके। सुन्नु भा’ छैन ? चिन्ता लिनु पर्दैन भन्दै हिंड्ने गर्या छन् ! ”
बीरगंज हाल भक्तपुर – १ लघुकथा

