- हिराकाजी कुमाल
अस्ति महिला समुहको भवनमा चर्काचर्की सुनिएथ्यो ! के भएको रहेछ समुहमा भनेर पछि सोधपुछ गर्दा एउटी सदस्यले दुई महिनालाई भनेर लगेको ऋणको सावाँ र ब्याज तिरिनछन् त्यसैले उनलाई सबैले गाली गरेका रहेछन् !
पैसा नभएर नतिरेको होला नि त्यसरी हल्ला गर्ने होत भन्दा “ऋण लगेपछि तिर्नुपर्छ, अहिले छैन भनेर हुन्छ ?” मान्य सदस्यको कुरा जायज भएपनि एउटै टोलमा बस्ने आमा दिदिबहिनी हरु एउटालाइ समस्या पर्दा अर्कोले सहयोग गर्नुपर्छ अहिले नभएपनी अर्को दिन होला नि, फेरि तपाईं हामीलाई पनि त यस्तो समस्या कुनैदिन पर्न सक्छ, सक्नुहुन्छ भने अहिलेलाई तपाईंहरु सबै मिलेर तिरिदिनुस् भन्दा श्री सदस्य … ममाथि नै जाइलाग्नुभो हिजो ।
‘आज हाम्रो महिला समुहको दर खाने कार्यक्रम छ ! हामीले एक/एक हजार उठाएर दर खान लागेको, एउटीले पैसा छैन दर खान्न भनी, हामी उन्नाइस जना छौं!तपाईं दिउँसो कता जानुहुन्छ ? फ्रीजमा दाल तरकारी बिहानको छ, भात पकाएर खानु’ श्रीमती जि ले भनेपछि हस भनेँ । बेलुकी अबेर भैसकेको थियो म खेतमा पानी लगाएर घर फर्कदै गर्दा बाटैमा कान्छी दिदिको घर पर्ने,बोलाएँ ! कोहि नबोलेपछी भित्र पस्दा कान्छी दिदि एक्लै आँखा भरि आँसु लिएर रेडियोमा तिजको गित सुन्दै बसिरहेकी रहेछिन्दिदि के भयो ?
आज महिला समुहको दर खाने कार्यक्रममा तिमी गइनौ ? उनी बोलिनन् फेरि सोधेँ ! उनी अप्ठ्यारो मान्दै बोलिन् “अलि सन्चो नभएजस्तो भाछ त्यसैले … “मनमा धेरै कुराहरू भएपनि केहि भन्न नसकेको भान हुन्थ्यो …त्यही बेला भित्तामा झुन्डिएको रेडियोमा जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुँदै रुँदै … गित बज्न थाल्यो अब उनी बेस्सरी रुन लागिन् ।
राति अबेरसम्म श्रीमती घर नआएपछि उनलाई लिन जानुपर्यो भनेर त्यहाँ पुग्दा त्यहाँ पनि त्यही गित चरी जेलैमा ठुलो स्पिकरमा बजिरहेको थियो उनै महिला समुहका सदस्यहरु उफ्रि/उफ्रि नाचिरहेका थिए ।
गाेरखा

