गंगा खड्का
१.
हेर्दाहेर्दै तिमी जान्ने भएछौ
आफैँलाई ठूलो ठान्ने भएछौ
घमण्डको मात लागेछ क्यार
अरुलाई तीर हान्ने भएछौ ।
२.
हुने खानेका टाउकाहरु एकै ठाउँमा जोडिन्छन्
ओरालो लागेपछि मान्छेहरु आफ्नैबाट छोडिन्छन्
यो धन भन्ने कुरा कस्तो चिज बनाएछ मान्छेले
थैली बलियो हुनासाथ पाइला अन्यत्र मोडिन्छन् ।
३.
काँचो धागो सरी अचेल सम्बन्धहरु चुँडिँदै छ्न्
मायाले जोडेका मनहरु भित्रभित्रै कुँडिँदै छन्
हर कुराको अल्पायुमै उत्सर्ग हुन थालेपछि
मानवताका साइनोहरु दिनदिनै खुँडिँदै छन् ।
४.
चन्द्रमाको कला बिर्सेर मान्छे किन दाग मात्रै हेर्छन् ?
आफूले नै चिनेको चौतारालाई काँडाले किन घेर्छन् ?
एउटै कुरामा फरक दृष्टिकोण घरीघरी किन
मान्छेले आखिर स्वार्थी बनेर रङ कतिन्जेल फेर्छन् ?
५.
हिलोमा पनि सुन्दरता पोख्दै कमल फूल फुल्दछ
सौन्दर्यधारा बगाई गुलाफ काँडाबीच नि झुल्दछ
प्रकृतिको शक्ति अदम्य र अद्भुत भएरै त होला
घामपानीमा प्रेमिल रङ्ग दलेर इन्द्रेणी खुल्दछ ।
बुढानिककण्ठ, काठमाडाैं

