- महेन्द्रमान बलामी
१.
धक्का मुक्की सहनुको मजा बेग्लै हुन्छ।
जिन्दगीमा खाएका ती सजा बेग्लै हुन्छ।
लड्नु पर्छ वैरी सामु छाती फुलाएर।
जीत पछि फहराउने धजा बेग्लै हुन्छ।
२.
कुर्दा कुर्दै जाने माया वर्षपछि आयौ।
स्वर्णरुपी अङ्ग भरी हर्षपछि आयौ।
टोलाएरै बित्यो रात कोल्टे फेर्दा फेर्दै।
चाहनामा बिर्को लागी उत्कर्षपछि आयौ।
३.
राजा रङ्क बराबर उसको घरमा,
जता पनि तातो हुन्छ,भुसको घरमा।
यति मेरो त्यति तेरो बाँच्दामात्रै प्यारे!
कसको भरमा बाँचौँ प्रभु! फुसको घरमा।
४.
कठैबर भित्रभित्रै खोक्रो भयो देश।
रित्तिएर मात्र बाँकी बोक्रो भयो देश।
हल्लाएर जान्छ सबै जो जो आए पनि ।
नेताहरु सुताउने कोक्रो भयो देश।
फर्पिङ, काठमाडाैं

