मकवानपुर प्रहरीले अपहरणमा परेका २ जना युवाको उद्वार गरेर ४ दिनपछि सकुसल परिवारको जिम्मा लगाएका छन् । प्रहरीले उनीहरुलाई भारतबाट उद्वार गरेर हेटौंडा स्थित परिवारको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन गरेर यो जानकारी सार्वजनिक गरेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –९ स्वागत टोल बस्ने २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन रानामगरलाई सकुसल उद्वार गरी शनिबार नै परिवारको जिम्मा लगाएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
उनीहरु भदौ ३ गते राति ९ः ३० बजे हेटौंडा बसपार्क क्षेत्रबाट अपहरणमा परेका थिए । श्रेष्ठ र राना मगरलाई ३ जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर भारतको मोतिहारीसम्म पु-याएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । त्यसपछि उनीहरुलाई त्यहाँ बन्धक बनाइएको थियो ।
अपहरणकारीले उनीहरुसंँग प्रतिव्यक्ति ५ लाख भारतीय रुपीयाँ फिरौती माग गरेका थिए । फिरौती नपाए मृगौला बेचिदिने भन्दै यातना दिएका थिए पीडितको परिवारले जनाएक छ ।भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको रिमालले बताए ।
मकवानपुर प्रहरीले केही समय अगाडि मकवानपुर जिल्ला मनहरी गाउँपालिकाबाट अपहरीत एक बालिकालाइ पनि भारतबाट सकुसल उद्धार गरेको थियो ।

