- रिता खराल
१.
नगर्नु अवहेलना कसैलाई पनि
सम्मान गर्नु सबैलाई आफ्नै ठानी
भेदभाव, छुवाछुत~अन्त्य हुनुपर्छ
सबै मिलेर काम गर्ने बसालौँ बानी ।
२.
बगेको खोला फर्केर कहिले आउँदैन
उद्देश्य सही भए बाधाले पछ्याउँदैन
हाँसोहरू रोदनमा परिणत भएपछि
आफन्तले पनि दुःखमा साथ लाउँदैन ।
३.
तितोपाती झैँ तितो नबनोस् जिन्दगी
पसिनाको श्रम मिठो रहोस् जिन्दगी
अनि पो काम गर्ने रहर पलाउँछ
सबैसँग रिस, डाहा मरोस् जिन्दगी ।
४.
कहाँ जाने जानुपर्ने ठाउँ नभएपछि
पीडाले सबै रहरहरू लुटेर गएपछि
झन् मन कसरी मर्दो रहेछ जिन्दगीमा
मृत्युलाई पनि भगवानले नछोएपछि ।
५.
पाइला चाल्नु अघि धेरै नै सोच्नुपर्छ
रहर भेटाउन त धीरता रोज्नुपर्छ
चारैतिर विश्वासको रहेछ खडेरी
चाहना पूरा गर्न मित्रता जोड्नुपर्छ ।
रूपन्देही

