मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा सार्वजनिक पुस्तकालय स्थापना गरिएकाे छ ।पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया सार्वजनिक पुस्तकालय स्थापना गरिएको हाे ।
स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी शनिबार पुस्तकालय स्थापना गरिएको हो । पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा १ महिनाको अवधिमा मकवानपुरमा ३ वटा पुस्तकालय स्थापना भएका छन् । यसअघि हेटौंडा–७, नागस्वतीमा समृद्ध पुस्तकालय र हेटौंडा–६ मा शान्ति पुस्तकालय स्थापना भइसकेको छ ।
पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि ५० हजार रुपैयाँ बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको छ । पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईबीच पुस्तक हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागाई, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दंगाल, एस के निधन र राम मंग्रातीले जनही ५ हजार रुपैयाँका दरले योगदान गरेका हुन् ।
पुस्तकालय स्थापनाका लागि पहल गरेको भन्दै पुस्तकालय अभियान समूहका सदस्य किशोर पराजुली र श्याम मुडभरीले सहयोगी समूहको तर्फबाट समृद्धि टोल विकास संस्थाका अध्यक्ष परशुराम गौतम र बकैया–४ का वडा अध्यक्ष राजन दंगाललाई आभारपत्र प्रदान गरेका थिए । यस्तै पुस्तकालय अभियान समूहकै सदस्य एवम् वरिष्ठ पत्रकार प्रताप विष्टले बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई पुस्तक हस्तान्तरण गरेका छन्।
बकैया–४ स्थित समृद्धि टोल विकास संस्थाका अध्यक्ष परशुराम गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन कार्यक्रम भएको हो ।
‘पुस्तकालय स्थापना र सञ्चालन कठिन कार्य हाे’ कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य प्रताप विष्टले भने ‘समुदायमा पुस्तकालयको महत्व बुझाउनुपर्छ, ज्ञानको भण्डारले सत्यको नजिक पुर्याउँछ ।’
पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारीले पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनासँगै उचित व्यवस्थापन र उपयोगिता अभिवृद्धिका लागि आगामी दिनमा थप समन्वय तथा सहजीकरणको काम गर्ने बताए । भण्डारीले आगामी दिनमा मकवानपुरका सवै पालिकामा पुस्तकालय स्थापना गरेर वडा वडा हुँदै टोल टोलसम्म पुर्याइने जानकारी दिए ।
झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले पुस्तकालयको स्थापना, प्रयोग र विस्तारमा बकैया गाउँपालिकालाई झरना साहित्यिक परिवारले सहयोग र सहकार्य गर्ने बताए । पालिकास्तरमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने सहमति समेत भइसकेको अध्यक्ष गौतमले जानकारी दिए ।

