उ त्यो मायानगरीमा
एउटा अत्यन्तै आनन्ददायी
भव्य मायाभवन बनाए मेराे मायाले
जहाँ थिए ढकमक्क बगैंचाहरू,
फिरफिराउंदै गरेका पुतलीहरू
चराको चिरबिराहट,
कस्तुरी, मयूर, र चखेवाहरूको प्रेमिल लुकामारी,
सुवासित पवनको अटुट लहर,
आफू आफैभित्र हराउने
त्यो मनमोहक सुनौलो आराम कक्ष,
मायाकाे आभा छाइरहने गुलाबी बिछ्यौना,
कुनै पनि कुराको अभाव नहुने गरी
तयार गरिएको त्यो सानदार,
मायाभवनको संघारमा उभिएर
प्रेमालिङ्गनमा बांध्दै उनले भने
“मायालु यो तिम्रा लागि ।”
उनी अझ भन्दै गए,
“तिमी मेरो प्राण हौ, सिङ्गाे संसार हौ,
मैले पुज्ने देवी हौ तिमी,पुजिरहन चाहन्छु,
तिम्रो देवत्वमाथी ठेस कसरी लगाउं म ?
मेरो संसारमा लगेर तिमीलाई अछुताे बनाउनु छैन,
मसँगको सम्बन्ध बताएर तिम्रो उछितो काट्नु छैन,
मेरो संसारसँग चिनाएर झुकाउनु छैन तिम्रो स्वाभिमानी शिर,
उठाउनु छैन त्याे समाजको औला तिमीप्रति,
जुटाउनु छैन हामी विरुद्ध त्यो समाजलाई,
छुटाउनु छैन तिम्रो र मेरो मनको सामिप्यता
चुकाउनु छैन हाम्रो मायाको मूल्य,
अनि,
टुटाउनु छैन हाम्रो मायाको बन्धन,
त्यो संबेदनहिन सामाजको संघुरो घेराभन्दा बाहिर,
तिमीलाई यो स्वर्गीय आनन्दको
मायापुरी र मायाभवन सुम्पन चाहन्छु,
“मायालु यो तिम्रा लागि ।”
झल्याँस्स बुझिएँ, जब बिपनामा ओर्लिएँ
यसरी चिच्याउन मन लाग्यो:
“ओ याेद्धा, ओ माया, बस् तिमी समान दृष्टि राखेर,
मलाई तिम्रो मनमा ठाउँ देउ,
यि सारा युद्ध म एक्लै जित्नेछु ।”
२०७८ असार ।

