- जगन्नाथ सुवेदी
मानिस तरल पानी हो
मरण पुर्वको अन्तिम सौगात
त्यसैले
धर्मको नारा रगतले लेख्ने
अपरिचितहरुको नाम सुन्दा
म भित्र अनायास बागमती सुक्दछ
मानिस तरल आँसु हो
परेला भित्र अट्न सक्ने
त्यसैले आफ्नो धुकधुकीको विश्राममा
उ लाख परेलाबाट अभिषेक पाउँछ
मानिस तरल पसिना हो
परिश्रमको पूज्य उपज
त्यसैले
ठेला उठेका हत्केलाहरु
शसित हुन मन्जुर छन्
मानिस तरल रगत हो
थोपा थोपामा सिंगो जीवन बोक्ने
त्यसैले
देशलाई जीवन दिन
उ शहिद भएर बाँचिरहन्छ
मानिस तरल मसी हो
सत्य र धर्मको उद्घाेष गर्ने
त्यसैले “सत्यमेव जयते”
अनि “यतो धर्म ततो जय”
यी सुक्तिले अमरत्व पाइरहेछन्
मानिस तरल अमृत हो
जीवन र जगतको उद्धार गर्ने
त्यसैले
स्वर्गका राजा इन्द्रलाई
दधिची आफ्नो हाड दिन्छन्
मानिस तरल तेल हो
तातिएर खाग बन्नु पर्ने
त्यसैले
अन्तरीक्षे देख्न खुलेका परेला
कारागारभित्रै बन्दै हुन्छन्
मानिस तरल मह हो
ओंठको स्पर्शले मदहोस पार्ने
त्यसैले
मेनुकाको शारिरीक सुन्दरताले
विश्वामित्रको अठोट नष्ट गर्छ
मानिस तरल दुध हो
आफ्नो गरिमा भुलेर उम्लने
त्यसैले
मानव देवत्वमा नपुगेको धेरै भयो
दानवका अधिपत्य बढ्दैछ
मानिस तरल पेट्रोलियम हो
जीवन जगत क्षणमै जलाउने
त्यसैले
फेरी हिटलर जन्मिने शंकाले
हिरोसिमाहरु डराइरहेछन्
मानिस तरल मदिरा हो
उन्माद भएर आदर्श बेच्ने
त्यसैले
हिमशिखरलाई प्रित साँचेका
कुमुदिनी फुलहरुकाे चित्कार
मृत्युको घण्टा बजेसरी
बम्बै कोठीमा संगित भएका छन्
रचनाकाल २०५१ साल

