- गंगा खड्का
“हेर है बहिनी ! बेलैमा अस्पताल गएर उपचार गर ।अहिले त निसन्तान केन्द्रहरु कति खुलेका छन् कति ।” अनुलाई धेरैले भन्थे ।”
आ! भए सय शोक ,नभए एकै शोक! सन्तान हुनेहरूका पनि देखेको छु ।” अनुले सबैका कुरालाई यसरी नै टारिदिन्थी । धेरै वर्षसम्म काख रित्तो हुँदा नि अनुले सन्तानप्राप्तिको रहरलाई मनको कुनाभित्रै तुहाएर राख्थी ।
एक दिन उसको लोग्नेले भन्यो , बूढी दाजुभाइ ,दिदीबहिनीको छोराछोरीले हेर्लान् जस्तो छैन ।अब ४० कटेपछि अस्पताल गएर के गर्नु । तिम्रो जीउ पनि रोगी छ ।अस्पताल गएर ज्यानलाई प्रयोगशाला बनाएर के गर्नु । तिमीलाई म कहिले पनि दु: खमा राख्ने छैन । बरु म अर्को बिहे गरुँ कि क्या हो?
“घरलाई स्वर्ग र श्रीमानलाई भगवान मान्ने उसले आफ्नै हातले सौता भित्राई । दोस्रो बिहेको ५ वर्षपछि पनि सन्तान भएनन् ।अब भने अस्पतालको धोका धकधकाउन उनीहरू बाध्य भए।अस्पतालमा उसका श्रीमान् र सौताका सबै जाँच गरियो ।
हस्पिटलको रिपोर्ट हातमा थमाइदिँदै उसका लोग्नेले भने,” बूढी तिमीजस्ती देवीको अवतारले म दैँत्यको छाया परेको राक्षसलाई किन ब्युँताइदिनौ ? अर्को बिहे गर्ने मेरो प्रस्तावलाई किन अस्वीकार गरिनौ? आज फेरि अर्को जिन्दगी बिग्रेको छ ।सन्तान प्राप्तिको लागि म पो असक्षम रहेछु त !”

