मकवानपुर । कोरोना संक्रमित बालबालिका, गर्भवती , शारीरिक अपांगता भएका र जेष्ठ नागरिकको समस्यालाई समाधान गर्नको लागि जिल्ला युवा समिति मकवानपुरले आबश्यक समन्वय र सहजीकरण गर्ने भएको छ ।
जिल्ला युवा समितीद्वारा गठित कोरोना महामारी सुचना तथा सहजीकरण केन्द्रको शुक्रवार बसेको भर्चुअल बैठकले उच्च जोखिममा रहेका कोरोना संक्रमितहरुको समस्याको समाधान गर्नको लागि आबश्यक समन्वय र सहजीकरण गर्ने भएको हो ।
विभिन्न कारणले घरमा आइसोलेसनमा बस्न अप्ठ्यारो भएका कोरोना संक्रमितलाई गौरिटार आइसोलेसनमा पुर्याउन र संक्रमितका समस्याहरुको समाधानको लागि सम्बन्धित कार्यालयको ध्यानाकर्षण गर्दै जिल्ला युवा समितीको कार्यालयले यसको सहजीकरण गर्ने जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिबहरि दाहालले बताए ।
बैठकमा जिल्ला समन्वय समितिको प्रमुख रघुनाथ खुलालले जिल्लामा कोरोना संक्रमित बिरामीको चाप कम भएको देखिएता पनि अबस्था अझै जटिल रहेको बताए । कोरोनाको लक्षण देखिनै बित्तिकै टेस्ट गर्न र होम आइसोलनमा बसेका उच्च जोखिम रहेका कोरोना संक्रमितहरुलाइ अस्पतालमा भर्ना हुनको लागि सहजीकरण गर्न जिल्ला युवा समितिलाइ खुलालले आग्रह गरे । खुलालले ग्रामिण क्षेत्रमा संक्रमणको दरमा उच्च वृद्धि भैरहेकोले स्थितिलाइ भयावह हुन नदिन सबै सचेत र सुरक्षित हुन आग्रह समेत गरेका छन् ।
गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाले संक्रमितले अझै आबस्यकता परेको बेलामा एम्बुलेन्स नपाउने लगायतका धेरै समस्याहरु रहेकाले यसको समाधानको लागि केन्द्रले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए । सिविन बाल हेल्पलाईनका कार्यक्रम अधिकृत झविन्द्र ज्ञवालीले कोरोना महामारीमा बालबालिका र महिला सबैभन्दा समस्यामा पर्ने भएकाले उनीहरुको वास्तविक अवस्थाको विश्लेषण गरि राहत र उद्धारमा उच्च प्राथमिकता दिनुपर्नेमा बताए ।
मकवानपुर जिल्लामा कोभिड १९ को प्रकोप न्युनिकरण, नियन्त्रण, उपचार र अत्यावश्यक सामाग्रीको उपलब्धताका बारेमा सेवा लिने दिने र विभिन्न निकायगत समन्वयका लागि तत्काल सम्पर्क गरि आबस्यक पहल गर्न सुचना तथा सहजीकरण केन्द्र गठन भएकाे दाहालले बताए ।
बैठकमा नेफ् स्कुन फिल्ड कार्यालय हेटौंडाकी प्रमुख ज्योती महत, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका रामजी खतिवडा, युवा संघसंस्थाको तर्फबाट राजेश नगरकोटी, पुष्कर तिमल्सिना र अभि मैनालीले धारणा राखेका थिए ।
बैठक जिल्ला युवा समितीका अध्यक्ष दाहालको अध्यक्षता तथा जिसस प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको हो ।

