- जगन्नाथ सुवेदी
सडकमा मान्छे र धुलो दुबै उत्तिकै व्यस्त छन् ,
मान्छे नाक र आँखा छोपेर धुलोलाई अस्विकार्छ,
धुलो मान्छेका कपालमा चढेर आफ्नो प्रभाव पार्छ ,
मान्छेको गन्तब्य र धुलोको कुनै ठेगाना यी दुबैको छैन,
धुलो र मान्छे उस्तै उस्तै छन् फरक थोरै छ,
धुलो को छुटै नाम छैन मान्छेले केहि अक्षर बोकेको छ,
समयको चक्रले नामका अक्षर मेटिदिंदा,
मान्छे एउटा अल्ली ठुलो धुलो झैं हुन्छ ।
धुलो हावामा त मान्छे कल्पनामा उड्छ,
एउटा पानीमा त अर्को नशामा भिज्छ,
हिलो बनेर धुलो नालीमा पुग्छ,
मान्छे मति अनुसाको गतीमा पुग्छ,
धुलो र मान्छे उस्तै उस्तै छन्
फरक थोरै छ,
हिलो उ सुकेपछि फेरी धुलो नै हुन्छ,
गन्तव्यको ज्ञान बिना मान्छे मान्छे हुदैन,
कपाल फुलेको इन्द्रिय गलेको एउटा अशक्त धुलो झैं हुन्छ ।
रचनाकाल २०५१

