मकवानपुर / जल उत्पन्न प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
जल उत्पन्न प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापनको लागि तयारी पारिएको प्रशिक्षण पुस्तिकामाथी सुझाव संकलन गरिएको हो । प्रदेशको सरोकारवालाहरूसंग राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपालले प्रकाशन गरेको प्रशिक्षण हाते पुस्तक माथी छलफल तथा सुझाव संकलन गरिएको हो ।
कार्यक्रममा उर्जा खानेपानी तथा सिचाइ मन्त्रालयका सचीव मोहन शाक्यले किसानले अपनत्व गर्नेगरी कार्यक्रम बनाउन र सोही अनुसारको प्रशिक्षण सामग्री बनाउन आग्रह गरे । प्रकोपबाट सबैभन्दा बढी पीडित किसानहरू नै हुने भएकोले यसले तल्लो तहको किसानले पनि राहत पाउने अपेक्षा आफूले गरेको शाक्यले बताए । सिचाइ तथा नहर निर्माणकार्य गर्दा भविश्यमा आईपर्ने जोखिम बारे पनि सचेत गराउन शाक्यले आग्रह गरे ।
कार्यक्रममा सिचाइ महाशाखा प्रमुख नवराज अवस्थिले स्थानीयको समस्यालाई सम्बोधन हुनेगरी सिपको बिकास गर्न ध्यान दिनुपर्ने बताए । प्रकोपको कारण, यसबाट उब्जने समस्या समाधानको उपाय, बिद्यमान जल,जमिनको अवस्था बारे पनि जानकारी चाहिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले बताए । यसैगरी किसानलाई नहर, सिचाइको थोरै प्रयोगबाट धेरै फाइदा लिने सीप ज्ञानबारे पनि जानकारी समेट्न उपसचिव पोख्रेलले बताए ।
स्थानीय स्तरमा हुने प्रकोपबाट बच्ने उपाय, प्रकोपको लेखाजोखा गर्ने विधि, तथ्यांक संकलनको तरिका बारे प्रशिक्षणमा जानकारी गराइने बिषयबस्तु समाबेश गरिएको राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघका सामाजिक परिचालक पुण्यप्रसाद सुबेदीले बताए ।
बिपद व्यवस्थापन चक्र, बिपद जोखिम व्यवस्थापन र विपद व्यवस्थापन चरणवद्व कार्य, रणनीतिक योजनाको प्राथमिकताहरू, बिषयगत अवधारणाहरू, प्रकोप संकटासन्न तथा क्षमता लेखाजोखा सबन्धी अवधारणा तथा औजारहरू बारे जानकारी दिने गरि स्थानीय तहमा प्रशिक्षण गराइने महासंघका सामाजिक परिचालक पुण्यप्रसाद सुबेदीले बताए । तालिमपछि स्थानीय स्तरको किसानहरूले जल उत्पन्न प्रकोप नियन्त्रण समस्या र समाधान बारे सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय क्षेत्रको समस्या र चुनौतीलाई सम्बोधन गर्ने गरि काम सुरु गरेको महासंघको प्रदेश कोषाध्यक्ष हेमलाल उप्रेतीले बताए । युएसएआडी र तायर नेपालको सहयोगमा प्रदेश स्तरीय छलफल गरिएको हो । कार्यक्रम महासंघका बागमती प्रदेश अध्यक्ष रघुनाथ महर्जनको अध्यक्षतामा भएको थियो ।
मकवानपुर । हेटौंडामा राजश्व प्रवर्द्धनको लागि घुम्ती शिविर संचालन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा बुधबार) राजश्व प्रवर्द्धनका लागि व्यवसाय दर्ता र नविकरण घुम्ती शिविर संचालन गरिएको हाे ।
हेटौंडा उपमहानगरपालिका कार्यालयले आयोजना गरेकाे व्यवसाय दर्ता र नविकरण घुम्ती शिविरकाे उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका छन् । मेयर महतले राजश्व सम्बन्धी दर्ता तथा नविकरण लगायतका काम वडा स्तरबाट नै गर्नका लागि शिविर संचालन गरेको बताए । उपमहानगरपालिका कार्यालयमै गएर लिनुपर्ने सेवा वडा स्तरमा दिनका लागि वडा–वडामा घुम्ती शिविर संचालन गरिएकाे राजश्व शाखा प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकाे ११ नम्बरबाट सुरु गरेको व्यवसाय दर्ता र नविकरण शिविर ३, १२ र १९ नम्बरमा संचालन भएको छ । हेटौंडाकाे ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ मा भने केही दिन भित्रै उक्त कार्यक्रम संचालन गरिने राजश्व शाखा प्रमुख श्रेष्ठले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलीका कपडा सहित २ जनालाई पक्राउ गरि कपडा बरामद गरेको छ। भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको कुर्तासुरुवाल, सुरुवालको थानको कपडा, टावेलसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरी टाेलीले मंगलबार हेटौंडा १० स्थित पुर्वपश्चिम लोकमार्गमा पर्सा बीरगंज महानगरपालिका वडा नं ३ बस्ने १९ वर्षीय तवकिर जोगी र बीरगंज महानगरपालिका वडा नं २ बस्ने १८ वर्षीय निराज आलमले ल्याएकाे उक्त कपडा चेकजाँच गर्दा भन्सार छली ल्याएकाे पाइएकाेले पक्राउ गरिएकाे मकवानपुर प्रहरी निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।
उनीहरुले भन्सार छली गरेर ल्याएको कपडा १ लाख ५ हजार ७ सय मुल्य बराबरको रहेको बताइएकाे छ । कपडा सहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको सापकाेटाले बताए ।
‘पाथीभरा महोत्सव एवं कोटीहोम महायज्ञ’ हुने
Tags: No Comments
मकवानपुर । हेटाैडामा रहेकाे पाथिभरा मन्दिरमा ‘पाथीभरा महोत्सव एवं कोटीहोम महायज्ञ’ हुने भएकाे छ । हेटौंडा-१ भैरवडाँडा स्थित धार्मीक पयर्टकीय स्थल पाथीभरा मन्दिरमा ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ हुने पाथीभरा मन्दिर संरक्षण समितिले जनाएको छ ।
फागुन २६ गते विहीबार अष्टमी तिथिबाट पाथीभर मन्दिरमा हुने कोटीहोम महायज्ञको तयारी अन्तिम अवस्थामा पुगेको समितिले जनाएको छ । मंगलबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरका संस्थापक पुजारी भरत प्रसाद लम्सालले शान्तीका लागि विहीबारबाट २०७९ साल बैशाख १ गतेसम्म कोटिहोम गर्न लागिएको जानकारी दिए । पुजारी लम्सालले मन्दिर स्थापना भएदेखिनै वर्षेनी कोटीहोम यज्ञ गर्दै आएकोमा यस वर्ष भने बृहत रुपमा महायज्ञको तयारी गरिएको बताए ।
धार्मीक पर्यटकीय स्थलको रुपमा विकास हुँदै आएको पाथीभरामा हुने कोटीहोममा हरेक दिन बिहान हवन,दिउँसो कथा वाचन र साँझमा पितृमोक्ष आरती तथा भजन किर्तन हुने आयोजकले जनाएको छ । मन्दिर समितिका सचिव शालिकराम पुडासैनीले कोटीहोम महायज्ञ विशेष पूजाआजा गर्ने भक्तजनलाई समेटिएर आयोजना गर्न लागिएको बताए । उनले कोटीहोमका लागि कसैसँगै सहयोगको माग नगरिएको र महायज्ञमा स्वतः स्फुर्त सहयोग गर्न चाहनेलाई सहयोग गर्न दिईने जानकारी गराए ।
महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट दुई दर्जन गुरुहरुलाई निमन्त्रणा गरिएको समितिले जनाएको छ । महायज्ञमा दैनिक सयौ श्रद्धालुभक्तजनले अवलोकन गर्ने अनुमान रहेको छ । कोटिहोमले शान्ति, मानव कल्याण,सुस्वास्थ्य तथा पितृ उद्धार हुने पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।
मकवानपुर । नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनकाे लागि हेटौंडाका ४ जनाले उम्मेदवारी दिएका छन् । एसाेसियसनकाे ३३ औं केन्द्रीय कार्यकारिणी समिति र दोस्रो बागमती प्रदेश समितिको निर्वाचनमा उनीहरुले उम्मेदवारी दिएका हुन् ।
हेटौंडा घर भई सरकारी तथा निजी क्षेत्रमा काम गर्दै आएका ४ जना इन्जिनियरले केन्द्रीय कार्यकारिणी समिति सदस्य, बागमती प्रदेश अध्यक्ष र प्रदेश सदस्यमा उम्मेदबारी दिएका हुन् । एसोसिएसनको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा हेटौंडा–४ का सुरज गौतमले डा. सुरज लामिछाने नेतृत्वको समूहबाट उम्मेदवारी दिएका हुन् । गौतम ‘आइआरडी योङ साइन्टिष्ट’ अवार्ड बिजेता हुन् । गौतम इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सनका कार्यकारी निर्देशक हुन् भने नेपाल फ्लाइङ ल्याब्सका निर्देशक हुन् ।
यस्तै, एसोसिएसनको बागमती प्रदेश अध्यक्षमा हेटौंडा–११ नवलपुरका विनोद सापकोटाले उम्मेदवारी दिएका छन् । सापकोटा इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका उपप्राध्यापक हुन् । हेटौंडा–४ का प्रवेशराज देवकोटाले एसोसिएसन बागमती प्रदेश सदस्यमा उम्मेदवारी दिएका छन् । देवकोटा नेपाल विद्युत प्राधिकरण कुलेखानी तेस्रोका इन्जिनियर हुन् ।यसैगरी, नेपाल टेलिकम हेटौंडा शाखा प्रबन्धक बसन्त लिङथेपले एसोसिएसन केन्द्रीय कार्यकारिणी समितिको इन्जिनियरिङ परिषद् समूहमा उम्मेदवारी दिएका छन् । इन्जिनियरिङ क्षेत्रमा २५ वर्षदेखि अनवरत काम गरिरहेका लिङथेपसँग नेपाल टेलिकमको विभिन्न निर्देशानलयमा र विभागमा कार्यालय प्रमुख र सिस्टम प्रमुख भई कार्य गरेको अनुभव छ ।
गतवर्ष चैत २४ गते तोकिएको एसोसिन केन्द्रीय र प्रदेश समितिको निर्वाचन कोरोना महामारीका कारण पटक–पटक सारिँदै आएको थियो । यसअघि ७ माघमा गर्ने भनिएको निर्वाचन प्रक्रिया पुनः सरेर फागुन २७ गते गर्ने भएको हो । फागुन २७ गते शुक्रबार हुने इन्जिनियर्स एसोसिएसनको केन्द्रीय र प्रदेश निर्वाचनअन्तर्गत् बागमतीको मकवानपुर, चितवन र काठमाडौंमा मतदान केन्द्र तोकिएको छ ।
मतदान केन्द्र हेटौंडाका निर्वाचन अधिकृत इन्जिनियर सुदीप फुयाँलले बागमती प्रदेशभर १२ हजार ६ सय ९१ मतदाता रहेको जानकारी दिए । हेटौंडा–१०, स्थित नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयमा मतदान केन्द्र तोकिएको छ ।
