मकवानपुर । हेटाैडामा रहेकाे पाथिभरा मन्दिरमा ‘पाथीभरा महोत्सव एवं कोटीहोम महायज्ञ’ हुने भएकाे छ । हेटौंडा-१ भैरवडाँडा स्थित धार्मीक पयर्टकीय स्थल पाथीभरा मन्दिरमा ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ हुने पाथीभरा मन्दिर संरक्षण समितिले जनाएको छ ।
फागुन २६ गते विहीबार अष्टमी तिथिबाट पाथीभर मन्दिरमा हुने कोटीहोम महायज्ञको तयारी अन्तिम अवस्थामा पुगेको समितिले जनाएको छ । मंगलबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरका संस्थापक पुजारी भरत प्रसाद लम्सालले शान्तीका लागि विहीबारबाट २०७९ साल बैशाख १ गतेसम्म कोटिहोम गर्न लागिएको जानकारी दिए । पुजारी लम्सालले मन्दिर स्थापना भएदेखिनै वर्षेनी कोटीहोम यज्ञ गर्दै आएकोमा यस वर्ष भने बृहत रुपमा महायज्ञको तयारी गरिएको बताए ।
धार्मीक पर्यटकीय स्थलको रुपमा विकास हुँदै आएको पाथीभरामा हुने कोटीहोममा हरेक दिन बिहान हवन,दिउँसो कथा वाचन र साँझमा पितृमोक्ष आरती तथा भजन किर्तन हुने आयोजकले जनाएको छ । मन्दिर समितिका सचिव शालिकराम पुडासैनीले कोटीहोम महायज्ञ विशेष पूजाआजा गर्ने भक्तजनलाई समेटिएर आयोजना गर्न लागिएको बताए । उनले कोटीहोमका लागि कसैसँगै सहयोगको माग नगरिएको र महायज्ञमा स्वतः स्फुर्त सहयोग गर्न चाहनेलाई सहयोग गर्न दिईने जानकारी गराए ।
महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट दुई दर्जन गुरुहरुलाई निमन्त्रणा गरिएको समितिले जनाएको छ । महायज्ञमा दैनिक सयौ श्रद्धालुभक्तजनले अवलोकन गर्ने अनुमान रहेको छ । कोटिहोमले शान्ति, मानव कल्याण,सुस्वास्थ्य तथा पितृ उद्धार हुने पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।

