- लक्ष्मी भट्टराई ‘परिधि’
आज पनि एउटा युद्ध जितेर आएँ अर्थात् बच्चाहरूलाई स्कूलको गाडी चढाएर फर्किएँ । बच्चाहरूले समयमै स्कूल गाडी भेट्टाउनु भनेको मेरा लागि एउटा युद्ध जित्नुसरह हुन्छ हरेक दिन । न जाडो, न गर्मी, न भोक, न तिर्खा, न सञ्चोसुविस्ता न बिमार; विकल्परहित समय हो यो । आखिर यी सब फुर्सदले जन्माएका अवसर न हुन् ।
पुस–माघको मध्यजाडोमा एउटा पातलो लुगा लगाएर छतमा जमेको ट्याङ्कीको बरफजस्तो पानीले बाहिर बार्दलीमा बसेर एक डोको भाडा अगाडि राखेर माझिराखेको बखत तलबाट कसैले हास्यपूर्ण भावले प्रश्न गरेको सम्झन्छु– “हैन, तपाईँलाई जाडो पनि हुँदैन कि क्या हो ?” त्यसबखत त हाँसेर टारिदिएँ तर अहिले सोच्दै छु– जाडो हुन पनि फुर्सद चाहिन्छ । आफूलाई जाडो भएको छ कि छैन भनेर सोच्ने फुर्सद ।
के बच्चाहरूलाई स्कूल पठाउनु भनेको उनीहरूलाई स्कूलको ड्रेस लगाइदिएर स्कूल बसमा चढाइदिनु मात्र हो ? अहँ, होइन ! हुँदै होइन ! त्यतिञ्जेलसम्म आफूलाई सम्पूर्ण रूपमा बिर्सिएर थुप्रै सेकेन्ड मिनेट र घण्टाहरू उनीहरूप्रतिको जिम्मेवारीमा प्रेमपूर्वक खर्च गरिसकेका हुन्छन् आमाहरूले । अँ, अब अन्य जिम्मेवारी पनि त छन् ! हतारिन्छु म । लथालिङ्ग फालिएका लुगाफाटाहरू, पेन्सिल, कलम, कापीका पानाहरू, किताब र अन्य अनेकथरि खेलकुदका सामग्रीहरू टिपनटापन गर्न थाल्छु । अघिसम्मको हेरिनसक्नुको कोठा बिस्तारै चिटिक्क देखिन्छ । मनमनै दङ्ग पर्छु म ।
भान्सातिर आँखा दौडाउँछु– बच्चाहरूलाई पठाउनुको हतारोले भताभुङ्ग भएको छ भान्सा । भाँडाकुँडाहरू सँगाल्छु र सरसफाइ गर्छु । भान्सा फेरि मुस्कुराउँछ । तपाईंहरूलाई लाग्ला– जाबो दुई छाक भात पकाउँदैमा फूर्ति गर्छन् महिलाहरू ! कहिल्यै सोच्नुभएको छ– एउटी गृहिणीले, एउटी आमाले, एउटी श्रीमतीले भात पकाउनु भनेको के हो ? सम्पूर्ण परिवारको स्वस्थ जिन्दगीको कामना गर्दै हरेक दिन एउटा प्रेमपूर्ण योजना विनास्वार्थ, विनालाभ समापन गरिनु भात पकाउनु हो । भात पकाउनु भनेको भाँडा माझ्नु पनि हो । भात पकाउनु भनेको चुलो सफा गर्नु पनि हो । किचनको सरसफाइदेखि लिएर सुन्दरतासमेतलाई वास्ता गर्नु पनि हो । हरेक छाक के पकाउने ? के खुवाउने ? कसरी सम्पूर्णको अनुहारमा खुशी ल्याउने ? यस्ता सन्दर्भमा एउटी गृहिणीको मनमष्तिकमा हरेक दिने कोरिने परिपक्व, परिपूर्ण योजना हो; जुन हरेक दिन विनाहिचकिचाहट उत्साहका साथ समापन गरिन्छन् हरेक भान्छाहरूमा ।
श्रीमान्, छोराछोरीको अनुहार सम्झँदै हरेक भाँडाहरू टिलिक्क चम्काउँदाको आनन्द स्वयम् उनैलाई थाहा होला । हरेक खानेकुरा हरेक सदस्यको मन पर्नु र नपर्नु, खान हुनु र नहुनुको ख्याल राख्दै तयार गर्नु र उनीहरूको उत्फुल्ल मुहार हेर्दै आफैँ अगाडि बसेर खुवाउनुको आनन्द पनि उनैलाई थाहा होला । ‘स्वार्थ त रहेछ नि यहाँ पनि ! आफ्नै आनन्दका लागि त रहेछन् सब’ भन्नुहोला फेरि ! कतै सुनेकी थिएँ– एउटी आमाले समेत विनास्वार्थ बच्चालाई स्तनपान गराउँदिनन् ! स्तनपान गराउँदा जुन अलौकिक आत्मसन्तुष्टि मिल्छ नि, त्यो नमिल्दो हो त कतिले स्तनपान गराउँदा हुन् भन्ने प्रश्न आउँछ । कति नमीठो तथ्य ! सत्यजस्तै लाग्ने झूटको पुलिन्दा कसको विचार होला यो ?
स्तनबाट छर्छरी रगत मिसिएको दूध आउँदासमेत नछाडेर छातीमा कुस्ती खेल्दै हुर्किएकी आफ्नै जेठी छोरीको निर्दोष शिशुकाल सम्झिन्छु । पीडाले असैह्य भएर छटपटाउँदा–छटपटाउँदै पनि दूध चुसाउन नछाडेको आफ्नै विगत सम्झन्छु । अवाक् लाग्छ मान्छेहरूको स्वार्थपूर्ण विश्लेषण देखेर । हरेक कुरामा स्वार्थको खोजी हुन्छ यहाँ । असमेल जिन्दगीका असरल्ल पानाहरू समेट्दा समेट्दै समय चिप्लिसकेको हुन्छ । मिनेट–मिनेटको, सेकेन्ड–सेकेन्डको हिसाब गर्दै बाँच्नु नै त जिन्दगी रहेछ आखिर । कहिलेकाहीँ त आफैँले भ्याएका काम सम्झेर आफू मेसिन हो कि मान्छे ? कन्फ्युजनमा हुन्छु म ।
यत्तिका जिम्मेवारीहरू एकपछि अर्को गर्दै सहज रूपमा सम्हाल्नमा कति माहिर हुन्छन् महिलाहरू ! तर, यतिमै जिन्दगी कहाँ सिद्धिन्छ र ! आत्मनिर्भर पनि त बन्नुपर्यो नि हैन र महिलाले ? नभए केको समानता ! हतारहतार भातभान्साको समापन गरेर व्यावसायिक काममा व्यस्त हुन्छु म । “समानता मात्र खोजेर हुन्छ ! घर चलाएर देखाओ न ! अनि, गर्नु बराबरीका कुरा, समानताका कुरा !” प्रशस्तै सुनेकी छु मेरै समाजका यस्ताखाले महान् वाणी । हो, महिलाले अन्य आर्थिक जिम्मेवारी पनि लिनुपर्छ, लिन खोज्नुपर्छ । तर, लिनै पर्छ भन्नेमा मेरो असहमति छ । बिहानै पाँच बजे उठेदेखि बेलुकी नौ बजेसम्ममा तपाईंको घरमा हुने सम्पूर्ण क्रियाकलाप सम्झनुस् त ! केही नभए पनि अत्यन्त निष्ठापूर्वक जिम्मेवारी बहन गर्ने कम्तिमा दुई वटा कामदार आवश्यक पर्नेछ तपाईंलाई । त्यतिमात्र होइन, तपाईंका बच्चाबच्चीको असल शिक्षिकासमेतको अभाव हुनेछ ।
तपाईंलाई पैसाको दुःख नहोला तर के पैसा खर्च गर्दैमा एउटी गृहिणी, आमाबाट प्राप्त हुने प्रेमपूर्ण व्यवहार पनि तपाईंको भागमा पर्ला त ! आफूले निर्वाह गरिरहेको यही जिम्मेवारी दुईचार दिनका लागि छाडेर हिँड्दा ‘कसरी सम्हाले होलान् लोग्नेले ?’ भन्ने चिन्तामा पिरोलिइरहन्छ हाम्रो मन । महिलाले गरेका घरायसी काम आर्थिक क्रियाकलापभित्र पर्ला कि नपर्ला ? यस अर्थमा आर्थिक कार्यमा सहभागी हुँदै प्रेममय संसारको सिर्जना गरिरहेकी हुन्छिन् । आफ्ना बालबच्चाको भविष्य निर्माण गरिरहेकी हुन्छिन् एउटा आमा, एउटी गृहिणी । अनि, ‘मैले मात्र कमाइरा’छु, मैले मात्र काम गरेको छु’ भन्ने तपाईंभित्रको अहम्ले कति बिझाउला उनलाई ? विना तलब अठार घण्टा बेहिसाब घोटिने आमा, दिदीबहिनीहरू देखेर साह्रै दया लाग्छ, छाती चिरिन्छ, मन निचोरिन्छ र आँसु चुहिन्छ तप्प–तप्प ।
कहिलेकाहीँ आफूलाई सम्झ्यो र रोयो अनि कहिलेकाहीँ परिवार सम्झ्यो र हाँस्यो । यही त हो हामी र हामीजस्ताको जिन्दगी ! यो दुईपाटोमध्ये एक पाटोमा अँध्यारिएको जिन्दगीको मर्म कसले बुझिदिने ! जीवनमा कहिल्यै ‘म’ को उच्चारणसमेत नगरी सिर्फ परिवारको खुशीका लागि बाँचिदिने आमाहरूलाई सम्झेपछि तपाईंलाई के कसो हुन्छ ? मचाहिँ नतमस्तक हुन्छु । “ममी नभई होमवर्क गर्नै मन लाग्दैन ।” यौटा अर्को युद्ध जितेर अर्थात् स्कूलबाट फर्किएलगत्तै सानी छोरी गुनासो गर्छे । आफूलाई काममा भिड्नुको हतारो छ । उसलाई ममी चाहिएको हुन्छ । गृहस्थीसँगै कामकाजी आमासमेत हुनु भनेको छोराछोरीका लागि दुर्भाग्य नै रहेछ ! यस्तो सोचेर कहिलेकाहीँ साह्रै नरमाइलो लाग्छ ।
यौटी आमाले बच्चाहरूलाई सँगसँगै पछि लागेर हुर्काउनु र सबै व्यवस्था मिलाएर उनीहरूलाई उनीहरूकै सुरमा छाडिदिनु, यी दुई अवस्था धेरै अर्थमा नै फरक हुँदोरहेछ ! केटाकेटी, घर, कार्यालय एकसाथ विवेकपूर्ण ढङ्गले कसरी सम्हालिन्छन् ? त्यो घर चलाउने नारीलाई नै थाहा हुन्छ । तर, कसैले पनि महिला अर्थात् श्रीमती, आमा, दिदीबहिनी, छोरीको बारेमा गम्भीर चिन्ता गरेको अहँ कहीँ कतै देख्न, सुन्न पाइँदैन । किन होला ? हाम्रो ‘मन नै उस्तो हो ! हामी नै उस्ता हौँ’ भनेर धिक्कारेर भए पनि आफ्नो चित्त आफैँ बुझाउँछौँ हामी यदाकदा ।
‘हामी नै हौँ कि क्या हो आफैँमाथि विभेद सिर्जना गर्ने ?’ जस्तो पनि लाग्छ कहिले त ।परिवारको सेवामा बितेका सम्पूर्ण समयलाई साक्षी राखेर चिच्याउन मन लाग्छ— म खोई ? म कहाँ छु ?
(परिवारको सुख, खुशीलाई नै आफ्नो उपलब्धि मानेर परिवारलाई एकसूत्रमा बाँधिरहने गृहिणीमा समर्पित )
मकवानपुरकाे हर्नामाडीमा जन्मनु भई हाल काठमाडाैलाई कर्म थलाे बनाएका भट्टराई शाल्मलि मासिककी सम्पादक हुन ।

