मकवानपुर । बागमती प्रदेश उपसभामुख अप्सरा चापागाईंले द्वन्द्व पीडितलाई न्याय दिन सहकार्य गर्ने बताउनु भएको छ। इन्सेक बागमती प्रदेशको आयोजनामा भएको बिस्तृत शान्ति सम्झौताको २० बर्ष, संक्रमणकालीन न्यायको अवस्था र द्वन्द्व पीडितको अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो।
हजारौँ द्वन्द्वपीडितको आवाज सरकारले सुन्नुपर्छ उपसभामुख चापागाईंले भन्नुभयो ‘द्वन्द्वले समाजमा रहेका कतिपय विभेदलाई अझै गहिरो गरेको छ ।’ विस्तृत शान्ति सम्झौताको २० बर्ष पुग्दासम्म पीडितले न्यायको आभास गर्न नसक्नु दु:खद भएको उहाँले बताउनुभयो । जबसम्म न्याय पाउँदैनौँ, तबसम्म आवाज उठाइरहनु पर्ने उहाँको भनाई थियो। राज्यले शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख जगश्वर चापागाईंले कानुन संशोधन गरेर पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो। “ऐन कानुन संशोधन पनि भए तर त्यो अनुसार कार्यान्वयन हुन सकेन। त्यसले निराशा बढाएको छ” उहाँले भन्न्भयो ।
सेना समायोजन लडाकुको व्यवस्थापन भएको तर न्यायको कुरा चाँही पछाडी पारिएको प्रति उहाँले गुनासो गर्नुभयो । मानव अधिकारको दृष्टिकोणले त्यो राम्रो नभएको उहाँले बताउनुभयो । न्यायको अनुभूति जबसम्म हुँदैन त्यसले राज्यले ध्यान नदिएको स्पष्ट हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा द्वन्द्व पीडितहरूले आफूहरूको संघर्षमा राज्य नयाँ युग प्रवेश गरेको तर आफू उहीँ हालतमा रहेको बताए कार्यक्रममा प्रदेश सचिव पूर्ण बहादुर दर्जीले निराश नभईकन सबै मिलेर समाधान तिर लाग्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेश निवर्तमान मुख्यन्यायधिकक्ता अप्सरा बस्नेतले शान्ति सम्झौतापछी भएका उपलब्धि तथा पीडितको अपेक्षा बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

