मकवानपुर / जल उत्पन्न प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
जल उत्पन्न प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापनको लागि तयारी पारिएको प्रशिक्षण पुस्तिकामाथी सुझाव संकलन गरिएको हो । प्रदेशको सरोकारवालाहरूसंग राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपालले प्रकाशन गरेको प्रशिक्षण हाते पुस्तक माथी छलफल तथा सुझाव संकलन गरिएको हो ।
कार्यक्रममा उर्जा खानेपानी तथा सिचाइ मन्त्रालयका सचीव मोहन शाक्यले किसानले अपनत्व गर्नेगरी कार्यक्रम बनाउन र सोही अनुसारको प्रशिक्षण सामग्री बनाउन आग्रह गरे । प्रकोपबाट सबैभन्दा बढी पीडित किसानहरू नै हुने भएकोले यसले तल्लो तहको किसानले पनि राहत पाउने अपेक्षा आफूले गरेको शाक्यले बताए । सिचाइ तथा नहर निर्माणकार्य गर्दा भविश्यमा आईपर्ने जोखिम बारे पनि सचेत गराउन शाक्यले आग्रह गरे ।
कार्यक्रममा सिचाइ महाशाखा प्रमुख नवराज अवस्थिले स्थानीयको समस्यालाई सम्बोधन हुनेगरी सिपको बिकास गर्न ध्यान दिनुपर्ने बताए । प्रकोपको कारण, यसबाट उब्जने समस्या समाधानको उपाय, बिद्यमान जल,जमिनको अवस्था बारे पनि जानकारी चाहिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले बताए । यसैगरी किसानलाई नहर, सिचाइको थोरै प्रयोगबाट धेरै फाइदा लिने सीप ज्ञानबारे पनि जानकारी समेट्न उपसचिव पोख्रेलले बताए ।
स्थानीय स्तरमा हुने प्रकोपबाट बच्ने उपाय, प्रकोपको लेखाजोखा गर्ने विधि, तथ्यांक संकलनको तरिका बारे प्रशिक्षणमा जानकारी गराइने बिषयबस्तु समाबेश गरिएको राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघका सामाजिक परिचालक पुण्यप्रसाद सुबेदीले बताए ।
बिपद व्यवस्थापन चक्र, बिपद जोखिम व्यवस्थापन र विपद व्यवस्थापन चरणवद्व कार्य, रणनीतिक योजनाको प्राथमिकताहरू, बिषयगत अवधारणाहरू, प्रकोप संकटासन्न तथा क्षमता लेखाजोखा सबन्धी अवधारणा तथा औजारहरू बारे जानकारी दिने गरि स्थानीय तहमा प्रशिक्षण गराइने महासंघका सामाजिक परिचालक पुण्यप्रसाद सुबेदीले बताए । तालिमपछि स्थानीय स्तरको किसानहरूले जल उत्पन्न प्रकोप नियन्त्रण समस्या र समाधान बारे सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय क्षेत्रको समस्या र चुनौतीलाई सम्बोधन गर्ने गरि काम सुरु गरेको महासंघको प्रदेश कोषाध्यक्ष हेमलाल उप्रेतीले बताए । युएसएआडी र तायर नेपालको सहयोगमा प्रदेश स्तरीय छलफल गरिएको हो । कार्यक्रम महासंघका बागमती प्रदेश अध्यक्ष रघुनाथ महर्जनको अध्यक्षतामा भएको थियो ।
In: कृषि/ पर्यटन, मुख्य खबर
Tags: No Comments

