मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलीका कपडा सहित २ जनालाई पक्राउ गरि कपडा बरामद गरेको छ। भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको कुर्तासुरुवाल, सुरुवालको थानको कपडा, टावेलसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरी टाेलीले मंगलबार हेटौंडा १० स्थित पुर्वपश्चिम लोकमार्गमा पर्सा बीरगंज महानगरपालिका वडा नं ३ बस्ने १९ वर्षीय तवकिर जोगी र बीरगंज महानगरपालिका वडा नं २ बस्ने १८ वर्षीय निराज आलमले ल्याएकाे उक्त कपडा चेकजाँच गर्दा भन्सार छली ल्याएकाे पाइएकाेले पक्राउ गरिएकाे मकवानपुर प्रहरी निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।
उनीहरुले भन्सार छली गरेर ल्याएको कपडा १ लाख ५ हजार ७ सय मुल्य बराबरको रहेको बताइएकाे छ । कपडा सहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको सापकाेटाले बताए ।

