मकवानपुर । हेटौंडामा राजश्व प्रवर्द्धनको लागि घुम्ती शिविर संचालन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा बुधबार) राजश्व प्रवर्द्धनका लागि व्यवसाय दर्ता र नविकरण घुम्ती शिविर संचालन गरिएको हाे ।
हेटौंडा उपमहानगरपालिका कार्यालयले आयोजना गरेकाे व्यवसाय दर्ता र नविकरण घुम्ती शिविरकाे उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका छन् । मेयर महतले राजश्व सम्बन्धी दर्ता तथा नविकरण लगायतका काम वडा स्तरबाट नै गर्नका लागि शिविर संचालन गरेको बताए । उपमहानगरपालिका कार्यालयमै गएर लिनुपर्ने सेवा वडा स्तरमा दिनका लागि वडा–वडामा घुम्ती शिविर संचालन गरिएकाे राजश्व शाखा प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकाे ११ नम्बरबाट सुरु गरेको व्यवसाय दर्ता र नविकरण शिविर ३, १२ र १९ नम्बरमा संचालन भएको छ । हेटौंडाकाे ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ मा भने केही दिन भित्रै उक्त कार्यक्रम संचालन गरिने राजश्व शाखा प्रमुख श्रेष्ठले बताए ।

