मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १६ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । मकवानपुरगढी ५ नम्बर वडाका वडा सदस्य सुकराम थिङ सहित उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिङ बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनी सहित पार्टी प्रवेश गर्नेलाई कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा जिल्ला सदस्य कालु घलान, प्रतिनिधि सभा क्षेत्र २ को सचिव बलराम घिमिरे, पूर्व संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजविर मुक्तान, वडा सभापति दिपेश दाहाल लगायतको सहभागिता रहेको थियो ।

