मकवानपुर । हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा लोक गायक बद्री पंगेनीसंगै दर्शक झुमेका छन् । पंगेनीले आफ्नो सांगीतिक प्रस्तुतीमा दर्शकलाई भीड लगाएका थिए ।
उनले आफ्ना चर्चित र लोकप्रिय गीतमार्फत मकवानपुरेलाई नचाएका थिए । महोत्सवमा उपस्थित दर्शकहरुले नाचेर साथ दिएका थिए । महोत्सवमा बुधबार पंगेनीसंगै गायक हेमन्त शर्मा, मीना गिरी, सम्झना लामिछाने, डोरबहादुर खपाङ्गी, राजेन्द्र गुन्द्रुके लगायतले आफ्नो प्रश्तुती दिएका थिए । विहीबार चर्चित गायिका आस्था राउत, दुर्गा सापकोटा, गायक मदन विष्ट, सरोज लामिछाने, रविकुमार रिमाल र हाँस्य कलाकार दिनेश काफ्लेको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
१७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल सञ्चालन भैरहेको छ । महोत्सव आयोजक समितिका संयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्कीले महोत्सव सोचे अनुरुप सञ्चालन भैरहेको जानकारी दिए । खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा सबैको साथ, सहयोग प्राप्त भैरहेको बताए ।
महोत्सवमा करिब २६० वटा स्टल रहेको छ । कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्दान महोत्सवमा रहेको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने करिब २५ लाख रुपैयाँ रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ ।
मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ काे लागि अध्यक्ष पदमा अमृत बर्तौलाले उम्मेदवारी घोषणा गरेका छन् । बर्तौलाले जेसीज वर्ष २०२४ काे लागि अध्यक्ष पदमा प्यानल सहितले उम्मेदवारी घोषणा गरेका हुन् ।
बुधबार पत्रकार भेटघाट गर्दै बर्तौला समूहले उम्मेदवारी घोषणा गरेका हुन् । बर्तौला जेसीज वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा छन् । बर्तौलाको समूहकाे कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने र जीवन ढकालकाे उम्मेदवारी रहने छ । त्यस्तै जेसीज २०२४ काे उपाध्यक्षमा रमेश काफ्ले, रमेश पराजुली, आतिश दाहाल र विश्वास पराजुलीले उम्मेदवार छन् ।
जेसीजको साधारणसभा पुष १३ गते र निर्वाचन १४ गते हुने गरी तालिका तय भएको छ । बर्तौलाले आफू निर्वाचित भएपश्चात् हेटौंडा जेसीजको स्वर्ण जयन्तीको अवसरमा तेस्रो पटक २०२८ मा राष्ट्रिय महाधिवेशन आतिथ्यता गर्नको लागि पहल गर्ने बताए । ४० वर्ष नाघेका जेसीजका पूर्व सदस्यहरुसँग निश्चित शुल्क लिई आजीवन सदस्यताका लागि साधारण सभाबाट पहल गराइने उनले बताए ।
जेसीजका इच्छुक पूर्व सदस्यहरुलाई प्रत्येक कार्यक्रमको सूचना सम्प्रेक्षण गर्नुका साथै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिई जेसीजको सचिवालय भवन पूर्ण रुपमा मर्मत गरेर नयाँ स्वरुप दिने र सभाहल सञ्चालन गरी आय आर्जनमा बृद्धि गर्ने लक्ष्य रहेकाे उनले जानकारी दिए ।
यस अघि हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठले जेसीजको संस्थागत विकाससँगै युवा पुस्ताको नेतृत्व एवम् व्यक्तित्व विकासका लागि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

मकवानपुर । प्रहरीले मकवानपुरबाट लागु औषध गाँजा ९८ किलाेसहित ४ जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुरकाे २ छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
हेटौडा उपमहानगरपालिका १५ राताेमाटेबाट ८८ किलाे ३ सय ९० ग्राम गाँजासहित १ जना र मनहरी ९ रमनटारबाट १० किलाे गाँजासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ । हेटौडा १५ राताेमाटेबाट उक्त परिणामकाे गाँजासहित थाहा नगरपालिका ५ बज्रबाराहीका सविन कुमार गुरुङलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
हेटौडा १५ रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले चितवन तर्फबाट सर्लाही तर्फ जादै गरेको ना.८ ख ७५०४ नम्बरको डिब्बा ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रकमा सात वटा पोकामा ८८ किलाे ३ सय ९० ग्राम लागु औषध गाँजा फेला परेकाे थियाे । प्रहरीले ट्रक चालक २५ वर्षीय सविन कुमार गुरुङलाई ट्रकसहित नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको महनरी गाउँपालिका–९ रमनटारमा भएको दुर्घटनामा घाइते उद्धारका लागि पुगेको प्रहरीले १० किलाे लागुऔषध गाँजा बरामद गरेको छ । उक्त घटनामा ३ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ । सोमबार रमनटारस्थित सडक किनारमा रोकिराखेको ना ४ ख ९४३३ नम्बरको ट्याङ्करमा बा ४० प ८२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
उद्धार गर्न घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल र घाइते फेला नपरेपछि घटनास्थल नजिकै झाडीबाट २ वटा झोलामा ५/५ किलाे लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घटनास्थलमा घाइते फेला नपर्नु तर लागुऔषध गाँजा फेला परेपछि प्रहरीले गरेकाे अनुसन्धानबाट माटरसाइकल चालक कैलाश गाउँपालिका वडा नं.७ शर्सि बस्ने २५ वर्षीय हरी प्रजा, माेटरसाइकल पछाडि सवार सोही स्थान बस्ने १८ वर्षीय प्रस्थान प्रजालाई मनहरीमै आफन्तको घरबाट घाइते अवस्थमा नियन्त्रणमा लिइएकाे हाे ।
मोटरसाइकल चालक हरीलाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारर्थ भरतपुर अस्पताल चितवन पठाईएको छ भने प्रस्थान र टयाङकर चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।
महोत्सवमा ज्योतिसँगै नाचे दर्शक
Tags: No Comments
मकवानपुर । हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा गायिका ज्योती मगरसँगै मंगलबार हेटाैंडाका दर्शक पनि नाचे । मगरले हेटौंडाको टिसिएन चौरमा आफ्ना चर्चित गीत गाउँदै दर्शकलाई नचाएकी हुन् ।
आफैं नाच्दै र गाउँदै स्टेजमा करिब एक घन्टा प्रस्तुती दिएकी उनलाई दर्शकहरुले धुलो उड्ने गरी नाचेर साथ दिएका थिए । बिदाको दिन भएकोले पनि अन्य दिनभन्दा मंगलबार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । मगरले करिब एक दर्जन गीत गाएकी थिइन ।
मगरसँगै कलाकारहरु ध्रुब बिस्को, मनोज गोर्खाली, केको सिङ लगायतको प्रस्तुती समेत थियो । लोक गायक पशुपति शर्मा आउने भनिएपनि बिशेष कारण उनी अनुपस्थित रहेका थिए ।
जारी महोत्सवमा बुधबार चर्चित लोक गायक बद्री पंगेनी, हेमन्त शर्मा, राजेन्द्र गुन्द्रुके, मिना गिरी लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । १७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको छन् ।
जिल्लाको खेल क्षेत्रको विकासमा लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले औधोगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैनिक विभिन्न बिधामा खेलकुदको स्पर्धा समेत भैरहेको छ । महोत्सव आयोजना स्थलमै खेलकुद प्रतियोगिता सन्चालन भैरहेको हो ।
महोत्सवमा खाना, लत्ताकपडा, विभिन्न सचेतनामुलकसहित २७० स्टल रहेका छन् । महोत्सवमा बाल उद्दान समेत रहेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा नेवार समुदायले यःमरि(मनपर्ने रोटी) पुन्हि पर्व मनाएका छन् । नयाँ धान भित्र्याएको खुसीयालीमा मनाईने यःमरि पुन्हि पर्व हेटौंडामा मनाईएको हाे ।
नेवार समुदायको दुई संस्थाले मंगलबार हेटौंडा बजारको बुद्धचोकमा निःशुल्क यःमरि र अचार वितरण गरि पर्व मनाएका छन् । नेवाः देय् दबु र नेवाः साँस्कृतिक पुचः मकवानपुरले छुट्टा छुट्टै यःमरि र अचार पकाएर वितरण गरेका थिए । कार्यक्रम नेवारी महिलाहरुले मौलिक पोशाक हाकुपटासीमा सजिएर यःमरी बनाएका थिए ।
नेवाः देय् दबुले आयोजना गरेको कार्यक्रम दबुका जिल्ला अध्यक्ष विष्णुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो । दबुले ४० किलो मैदाबाट करिव एक हजार चार सय वटा यःमरि र गोलभेडाको अचार निःशुल्क वितरण गरेको जनाएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय प्रतिनिधी सुरेश श्रेष्ठ, नेवाः देय् दबुका जिल्ला सचिव देवकुमार श्रेष्ठ, जिल्ला सदस्य यज्ञबहादुर श्रेष्ठ, हेटौंडा उपमहानगर अध्यक्ष प्रतिमा श्रेष्ठ, नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे लगायतको उपस्थिती रहेको थियो ।
नेवाः देय् दबुले मकवानपुर जिल्ला कार्यसमिति र हेटौंडा नगर कार्यसमितीबाट मात्र आर्थिक सहयोग संकलन गरी संस्कृती जगेर्ना गर्न यःमरि पुन्हि मनाएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा नेवाः अगुवाहरु शर्मिला श्रेष्ठ, सुना श्रेष्ठ, कान्छी श्रेष्ठ, शिव श्रेष्ठ, रमा श्रेष्ठ, राजु श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, विश्व श्रेष्ठ लगायतले यःमरि पुन्हि बनाउँन र वितरण सहयोग गरेका थिए ।
नेवाः साँस्कृतिक पुचः मकवानपुरले आयोजना गरेको यःमरि पुन्हि कार्यक्रम नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरको अध्यक्षतामा भएको थियो । करिब ५ सय जनालाई प्रति व्यक्ति २ वटा यमुरी र आलु चोखा वितरण गरिएको पुचःका जिल्ला महासचिव नारायण राजथलाले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाले उद्घाटन गरेकाे दुवै कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, शाखा अधिकृत गंगाकुमारी चौलागाई, भैरव कुमाल लगायतको आतिथ्यता रहेको थियो ।
