मकवानपुर । मकवानपुरकाे हेटौडामा नेवार समुदायले यःमरि(मनपर्ने रोटी) पुन्हि पर्व मनाएका छन् । नयाँ धान भित्र्याएको खुसीयालीमा मनाईने यःमरि पुन्हि पर्व हेटौंडामा मनाईएको हाे ।
नेवार समुदायको दुई संस्थाले मंगलबार हेटौंडा बजारको बुद्धचोकमा निःशुल्क यःमरि र अचार वितरण गरि पर्व मनाएका छन् । नेवाः देय् दबु र नेवाः साँस्कृतिक पुचः मकवानपुरले छुट्टा छुट्टै यःमरि र अचार पकाएर वितरण गरेका थिए । कार्यक्रम नेवारी महिलाहरुले मौलिक पोशाक हाकुपटासीमा सजिएर यःमरी बनाएका थिए ।
नेवाः देय् दबुले आयोजना गरेको कार्यक्रम दबुका जिल्ला अध्यक्ष विष्णुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो । दबुले ४० किलो मैदाबाट करिव एक हजार चार सय वटा यःमरि र गोलभेडाको अचार निःशुल्क वितरण गरेको जनाएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय प्रतिनिधी सुरेश श्रेष्ठ, नेवाः देय् दबुका जिल्ला सचिव देवकुमार श्रेष्ठ, जिल्ला सदस्य यज्ञबहादुर श्रेष्ठ, हेटौंडा उपमहानगर अध्यक्ष प्रतिमा श्रेष्ठ, नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे लगायतको उपस्थिती रहेको थियो ।
नेवाः देय् दबुले मकवानपुर जिल्ला कार्यसमिति र हेटौंडा नगर कार्यसमितीबाट मात्र आर्थिक सहयोग संकलन गरी संस्कृती जगेर्ना गर्न यःमरि पुन्हि मनाएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा नेवाः अगुवाहरु शर्मिला श्रेष्ठ, सुना श्रेष्ठ, कान्छी श्रेष्ठ, शिव श्रेष्ठ, रमा श्रेष्ठ, राजु श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, विश्व श्रेष्ठ लगायतले यःमरि पुन्हि बनाउँन र वितरण सहयोग गरेका थिए ।
नेवाः साँस्कृतिक पुचः मकवानपुरले आयोजना गरेको यःमरि पुन्हि कार्यक्रम नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरको अध्यक्षतामा भएको थियो । करिब ५ सय जनालाई प्रति व्यक्ति २ वटा यमुरी र आलु चोखा वितरण गरिएको पुचःका जिल्ला महासचिव नारायण राजथलाले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाले उद्घाटन गरेकाे दुवै कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, शाखा अधिकृत गंगाकुमारी चौलागाई, भैरव कुमाल लगायतको आतिथ्यता रहेको थियो ।

