मकवानपुर । हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा गायिका ज्योती मगरसँगै मंगलबार हेटाैंडाका दर्शक पनि नाचे । मगरले हेटौंडाको टिसिएन चौरमा आफ्ना चर्चित गीत गाउँदै दर्शकलाई नचाएकी हुन् ।
आफैं नाच्दै र गाउँदै स्टेजमा करिब एक घन्टा प्रस्तुती दिएकी उनलाई दर्शकहरुले धुलो उड्ने गरी नाचेर साथ दिएका थिए । बिदाको दिन भएकोले पनि अन्य दिनभन्दा मंगलबार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । मगरले करिब एक दर्जन गीत गाएकी थिइन ।
मगरसँगै कलाकारहरु ध्रुब बिस्को, मनोज गोर्खाली, केको सिङ लगायतको प्रस्तुती समेत थियो । लोक गायक पशुपति शर्मा आउने भनिएपनि बिशेष कारण उनी अनुपस्थित रहेका थिए ।
जारी महोत्सवमा बुधबार चर्चित लोक गायक बद्री पंगेनी, हेमन्त शर्मा, राजेन्द्र गुन्द्रुके, मिना गिरी लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । १७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको छन् ।
जिल्लाको खेल क्षेत्रको विकासमा लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले औधोगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैनिक विभिन्न बिधामा खेलकुदको स्पर्धा समेत भैरहेको छ । महोत्सव आयोजना स्थलमै खेलकुद प्रतियोगिता सन्चालन भैरहेको हो ।
महोत्सवमा खाना, लत्ताकपडा, विभिन्न सचेतनामुलकसहित २७० स्टल रहेका छन् । महोत्सवमा बाल उद्दान समेत रहेको छ ।

