मकवानपुर । प्रहरीले मकवानपुरबाट लागु औषध गाँजा ९८ किलाेसहित ४ जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुरकाे २ छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
हेटौडा उपमहानगरपालिका १५ राताेमाटेबाट ८८ किलाे ३ सय ९० ग्राम गाँजासहित १ जना र मनहरी ९ रमनटारबाट १० किलाे गाँजासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ । हेटौडा १५ राताेमाटेबाट उक्त परिणामकाे गाँजासहित थाहा नगरपालिका ५ बज्रबाराहीका सविन कुमार गुरुङलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
हेटौडा १५ रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले चितवन तर्फबाट सर्लाही तर्फ जादै गरेको ना.८ ख ७५०४ नम्बरको डिब्बा ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रकमा सात वटा पोकामा ८८ किलाे ३ सय ९० ग्राम लागु औषध गाँजा फेला परेकाे थियाे । प्रहरीले ट्रक चालक २५ वर्षीय सविन कुमार गुरुङलाई ट्रकसहित नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको महनरी गाउँपालिका–९ रमनटारमा भएको दुर्घटनामा घाइते उद्धारका लागि पुगेको प्रहरीले १० किलाे लागुऔषध गाँजा बरामद गरेको छ । उक्त घटनामा ३ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ । सोमबार रमनटारस्थित सडक किनारमा रोकिराखेको ना ४ ख ९४३३ नम्बरको ट्याङ्करमा बा ४० प ८२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
उद्धार गर्न घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल र घाइते फेला नपरेपछि घटनास्थल नजिकै झाडीबाट २ वटा झोलामा ५/५ किलाे लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घटनास्थलमा घाइते फेला नपर्नु तर लागुऔषध गाँजा फेला परेपछि प्रहरीले गरेकाे अनुसन्धानबाट माटरसाइकल चालक कैलाश गाउँपालिका वडा नं.७ शर्सि बस्ने २५ वर्षीय हरी प्रजा, माेटरसाइकल पछाडि सवार सोही स्थान बस्ने १८ वर्षीय प्रस्थान प्रजालाई मनहरीमै आफन्तको घरबाट घाइते अवस्थमा नियन्त्रणमा लिइएकाे हाे ।
मोटरसाइकल चालक हरीलाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारर्थ भरतपुर अस्पताल चितवन पठाईएको छ भने प्रस्थान र टयाङकर चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।

