मकवानपुर । हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा लोक गायक बद्री पंगेनीसंगै दर्शक झुमेका छन् । पंगेनीले आफ्नो सांगीतिक प्रस्तुतीमा दर्शकलाई भीड लगाएका थिए ।
उनले आफ्ना चर्चित र लोकप्रिय गीतमार्फत मकवानपुरेलाई नचाएका थिए । महोत्सवमा उपस्थित दर्शकहरुले नाचेर साथ दिएका थिए । महोत्सवमा बुधबार पंगेनीसंगै गायक हेमन्त शर्मा, मीना गिरी, सम्झना लामिछाने, डोरबहादुर खपाङ्गी, राजेन्द्र गुन्द्रुके लगायतले आफ्नो प्रश्तुती दिएका थिए । विहीबार चर्चित गायिका आस्था राउत, दुर्गा सापकोटा, गायक मदन विष्ट, सरोज लामिछाने, रविकुमार रिमाल र हाँस्य कलाकार दिनेश काफ्लेको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
१७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल सञ्चालन भैरहेको छ । महोत्सव आयोजक समितिका संयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्कीले महोत्सव सोचे अनुरुप सञ्चालन भैरहेको जानकारी दिए । खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा सबैको साथ, सहयोग प्राप्त भैरहेको बताए ।
महोत्सवमा करिब २६० वटा स्टल रहेको छ । कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्दान महोत्सवमा रहेको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने करिब २५ लाख रुपैयाँ रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ ।

