- आर.सी रिजाल, व्याङ्ग्यकार
देशभक्त शर्माको निधनपछि उनको छोरा पितृभक्त शर्माले कसरी पिताको १३ दिने कर्म गर्छ्न् भन्ने बिषयमा घाटबाटै खुलदुली सुरु भयो। कारण अरुलाई आशौच बार्नुपर्दा उनी -” हाम्रो पुरातन संस्कारमा समयानुकूल परिवर्तन गर्नु पर्ने ” कुराको पक्षमा वकालत गर्थे।
घाटबाट फर्केपछि आफन्त र छरछिमेकीबिच उनले पिताको काजकिरिया पाँच दिनमा टुग्याउने कुरा सुनाए । धेरैले परम्परा नतोड्नुस् भनेर सम्झाए । एकदुई जना नजिकैका नातेदारले त त्यस्तो कर्म गरेमा हामी तिम्रो आगनमा पाइलो टेक्दैनौसमेत भने।
शर्माले -“हेर्नुस् जन्म र मृत्युु प्रकृतिको नियम हो भने संस्कार,परम्परा मानव निर्मित हुन् ।मानवले बनाएका परम्परामा मानवलेनै सुधार गर्न सक्छ।”भने।उनको विचारको सधैं समर्थन गर्ने हुकुमबहादुरले -“हामीले बाबुबाजेले सुनाएको कुरामा पनि ख्याल राख्नु पर्छ। यो संस्कार सुरुमा १३ बर्ष,१३ महिना,६ महिना,४५ दिन हुँदै जुध्दशमशेरको पालाबाट १३ दिनमा झारेको भनी सुन्दै आएका हौं । त्यसैले दिन घटाएर सुधारको बाट अपनाउन समसामयिक ठहर्छ” भने ।
शर्माको काकाले-“सुनेको थियो रे ! जस्ता कुराको पछि नलागौँ। हाम्रो खलकबाट यस्तो उट्पट्याङ कार्यको थालनी गर्ने पक्षमा म समर्थन जनाउदिन ” भने।
शर्माले -“पण्डित माधवराज जोशी ,सहिद शुक्रराज सास्त्रीसहितको आर्य समाजले वैधिक विधि अनुसार ३ दिनमा शुध्दि गर्ने अभियान चलाएका थिए । केही बर्ष अगाडि प्रज्ञाप्रतिष्ठानको संस्कृत समितिले वैदिक बिधिका आधारमा तिनदिने मृत्युसंस्कारलाई उपयुक्त हुने सुझाव दिएको थियो ।त्यस्तै पण्डित रुद्रप्रसाद आचार्य र पारशमणी पोखरेलले पास्कर गृहसुत्रको आधारमा पाँचदिने अन्त्यपद्द्ती अनुसार पहिलो ३ दिनमा १० पिण्ड ,चौथो दिनमा ११ दिनको काम र पाँचौ दिनमा १२ र १३ दिनमा गर्ने कार्य सम्पन्न गर्न सकिन्छ भन्नुभएको छ।” भने।
काका चाहिँले -” दुईचार हावादारीका लठुवाका उदाहरण दिएर समाज भाँडने कुरा अगाडि सारेर आशोच छोट्याउने कुरा नगर”भनी हकारे। ” सुन्नुस् काका – एकदुई बर्षभित्रको कुरा गर्छु।डाक्टर उपेन्द्र देवकोटाको ७ दिनमा आशोच कर्म गरियो। हास्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्नी यसोदा सुवेदीको पाँच दिनमा कार्य सिध्याए । यस्तो बाटो पछ्याउने धेरै छ्न् । त्यसैले कुरा काट्ने काटी रहन्छन् । उहि कुकुर घुक्दै गर्छ,हात्ती अगाडि बढ्दै जान्छ भनेझैँ। म त पाँचौं दिनमा कर्म टुङ्याउछु।”
” मलाई कुकुर भनिस् “भन्दै काका रिसाएर हिँडेपछि त्यहा उपस्थित प्रायः बुढापाकाहरु लाखापाखा लागे । युवाहरुले – “शर्मा दाइ तपाईंले सुधारसहितको राम्रो संस्कारको कुरा उठाउन भयो। दुईचार अक्षर पढेका हामी शिक्षित भनाउदाले नै हो संस्कारमा सुधार गर्दै लाने हो।हामीहरु तपाईंको साथमा छौँ ” भन्दै शर्माको हौसला बढाए।
हेटाैडा, मकवानपुर

