- कविता शर्मा
समयसँग जोगाएका पल
भावनामा बगेर शब्द बन्न नसकेका मन
नियाल्दैछ
आफ्नै हातमा कस्सिएको कालचक्र
घरीघरी खुट्टामा फलामका पाङ्रा
पिठ्युँभरि तातो घामको बिटो
आखा रित्त्याउँदै बुनेको सपना
अनि
एकमुठी आत्मविश्वासका जरिबुटीले नै
सक्षम हुन्छ
ओढाउन सफलताको पछ्यौरी
हिमाल नाघ्ने
तवत
भावनामा पिल्सिदै मसी खोज्न छोड्यो मनले
बारूदसँग माया साटेको छ अचेल
बारुद बोल्छ
ठोक्नु छ मादल कुम्भकर्णको कानमा
छर्नु छ सन्जिवनीको बिरुवा
दिवाङ्गत मनहरूमा
जाग्राम ती धमिला आँखाले रचेको इतिहास
भत्काउन
बाल्नै पर्छ आगो बारुदको
निशब्द त्यो भावनाको गाँठ फुकाउन
एउटा् कलिलो मनलाई
बारुदकै मसीमा चुर्लुप्प डुबाउँदै
असंख्य झिल्का उडाउनु छ
तबत भरिन्छन् इतिहासका पछिल्ला पानाहरू
थपिन्छ अर्को एउटा युगको आत्मकथा
समयको रङ्गीन बुटाहरूमा
भोकुन्डो फुट्दैमा वायु सकिन्न रे
भन्दैछ बारुद मन
आकाशमा फलाउनु छ मकै उसलाई
रोपेर चमत्कारका बिरुवा
बँगैगाउँ गुहावटी आसाम

