१.
तुइन माथि अडिएको यस्तै रहेछ जिन्दगी त
बर्षाको नदी उर्लिएको जस्तै रहेछ जिन्दगी त
उसको मेरो पल्ला माथि दुबै तिर डोरी तान्दा,
माया अझ कस्सिएको मस्तै रहेछ जिन्दगी त ।
२.
जुधेकै छैन ति तिम्रा आँखा तर्काई किन भाग्छौ फेरि
सरेर त्यतै पछाडी पिठ्यु फर्काई किन भाग्छौ फेरि
प्यारका मधु भरिएका मदहोसमा लट्ठ प्याला ,
पिएकै छैनौ समाई तिमीले सर्काई किन भाग्छौ फेरि ।
३.
माया जीवनको मुख्य पाटो भई दियो
कहिले मिल्ती कहिले फाटो भई दियो
केही मेरो त केही उसको बर्षिएका धेरै,
एकएक प्रश्नको अर्थ लाटो भई दियो ।
४.
गल्ती भो म पाउ छुन्छु आउ तिमी पास मात्र
अलि सस्तो म नै हुन्छु बन तिमी खास मात्र
पहरा नै फोर्ने मेरा हातले फेरि छाती चिरी,
रुनु परे म नै रुन्छु अब तिमी हाँस मात्र ।
५.
कोहीका पेटमा छुरा चल्छन् मुखमा दुर्गा भवानी
बाहिर हाँसो भित्र चित्कार दु:ख सुखका खानी
मेरा मित्र सबै लाई डाकी सुनाउनु छ एक दिन,
जिउँदा मान्छेहरु बस्ने मुर्दा घरको कहानी ।
६.
हिजो आज शहरमा बन्द भएकी छु
बिर्को लाग्या जहरमा बन्द भएकी छु
बिपनी नै हो तर सपनी झैं लाग्ने,
खै कस्को रहरमा बन्द भएकी छु ।
७.
खुसी हुँदा लुटुक्क काखमा ढल्न सिपालु
रिस उठ्दा भित्र भित्रै जल्न सिपालु
गल्ति बाट उम्किन लाई साह्रै जिद्धी गर्ने,
चलाख कति मेरो मान्छे छल्न सिपालु ।
८.
दिन भुली अन्धकार चुने पछि के गर्ने हो
जूनताराका हिसाब सधैँ गुने पछि के गर्ने हो
सङ्गालेर राख्या माया अलिकता उसलाई मेरो,
छैन भन्ने झुट्टो खबर सुने पछि के गर्ने हो ।
९.
लेनदेन मायाको हिसाब आाम्दानी बढ्यो कि ?
सावा भन्दा व्याज तर्फ निगरानी बढ्यो कि ?
रोसनीले भरिपूर्ण मेरो यस्तो जिन्दगीमा,
उसकै माया उसकै खुसी मनोमानी बढ्यो कि ?
१०.
धुवाँको मुस्लो दन्किन थाल्यो आकाश छुदैछ
उर्लेर आयो बर्षाको खोलो बगर धुदैछ
सितल दिने छहारी बनि मिलेर बसेका,
वरले एक्लै छोडेर गयो पिपल रुँदैछ ।

