मकवानपुर । नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले हेटौंडा कपडा उद्योग अनुगमन गर्नु भएको छ ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ८ औधोगीक क्षेत्रमा रहेकाे उद्योगकाे शुक्रबार मन्त्री पुनले अवलोकन गर्नु भएकाे हाे । उद्योगको अवलोकन पछि मन्त्री पुनले उद्योगको हालको अवस्था, समस्या तथा चुनौती बारे चासो राख्नु भएको थियो । ‘उद्योगको दीगो संचालनको लागि सरकार लागि परेको छ’ उहाँले भन्नुभयो ।
पटक पटक खारेजीको पहल गरिएको उद्योग अहिले परिक्षण उत्पादनको क्रममा छ । बि.स २०५७ सालदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुन सन्चालनमा ल्याउने तयारी स्वरुप परीक्षण थालिएको हो। अहिले मेसिन नेपाल सरकारको पहलमा नेपाली सेनाले मर्मत गरी सञ्चालन गरेपछि २० वटा लुम (कपडा बुन्ने तान) बाट परीक्षण उत्पादन सुरु गरिएको हो।
कुल ४८८ मेसिनमध्ये अन्य मर्मतको क्रममा छन् । सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढाइएको हो। हाल बाहिरबाट धागो ल्याएर पुराना लुममार्फत कपडा बुन्ने परीक्षण भइरहेको छ।

