मकवानपुर । बागमती प्रदेशको उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले १३ जिल्लाको १४ उद्यमीलाई नगद सहित पुरस्कृत गरेको छ । ललितपुर महानगरपालिका १७ मा रहेको अन्नपूर्णा खाद्य उद्योग बागमती प्रदेशको सर्वोत्कृष्ट उद्योगको रुपमा पुरस्कृत भएको छ, भने अन्य १३ लाई उत्कृष्ट घोषणा गरेको हो ।
बागमती प्रदेश सरकारले नवप्रवर्तन उद्यमी सम्मान २०८३ को लागि उक्त उद्योगलाई सर्वोत्कृष्ट घोषणा गर्दै सन्चालक अन्नपूर्ण कुमारी थापालाई नगद २ लाख, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको छ । यो उद्योगले कुल अंकमा ७३ प्राप्त गरेको थियो । प्रदेशको उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले तोकिएको मापदण्ड अनुसार प्रदेश स्तरमा एउटा उद्योगलाई सर्वोत्कृष्ट र १३ जिल्लाका १३ उद्योगलाई जिल्ला स्तरमा उत्कृष्ट घोषणा गर्दै बुधबार पुरस्कृत गरेको हो ।
जिल्ला स्तरमा उत्कृष्ट हुने १३ जिल्लाका १३ उद्योगका सन्चालक उद्यमीलाई जनही ७५ हजार नगद प्रदान गरिएको छ । जिल्ला स्तरमा उत्कृष्ट हुनेहरूमा रामेछाप जिल्लाबाट पुष्पाञ्जली नेपाली हाते कागज उद्योग, सिन्धुपाल्चोक जिल्लाबाट अरनिको कृषि तथा पशुपालन फर्मी, सिन्धुली जिल्लाबाट लाङघाली जुनार उद्योग, काठमाडौ जिल्लाबाट सौगात आधुनिक कृषि फर्म, नुवाकोट जिल्लाबाट सानो कल्लेरी कृषि फर्म, मकवानपुर जिल्लाबाट शर्मा एकिकृत कृषि तथा पशुपंक्षी फार्म, ललितपुर जिल्लाबाट दाहाल कार्पेट उद्योग, चितवन जिल्लाबाट फाइटोकेयर ईन्टरनेशनल प्रा.लि. काभ्रेपलाञ्चोक जिल्लाबाट लेकाली पुष्टाकारी उद्योग, भक्तपुर जिल्लाबाट क्रियटिभ उड कार्मिङ, धादिङ जिल्लाबाट श्री पि. एण्ड जी मौरीपालन उद्योग, दोलखा जिल्लाबाट रेनु झोला तथा ट्राउजर उद्योग, रसुवा जिल्लाबाट राजन्या कृषि तथा पशुपंक्षी फर्म रहेका छन् ।
प्रतिस्पर्धाको लागि प्रदेशको १३ जिल्लामा रहेको उद्योगबाट सर्ट लिस्टेड गरेर प्रदेशमा ३९ वटाको नाम प्राप्त भएको थियोे । यस मध्यबाट छनौट गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगरले उद्योगको प्रतिस्पर्धात्मक क्षमता विकाससंगै श्रमिकको सम्मान र सीप विकासलाई प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो ।भाविपुस्ताको रोजाईको उद्योग बनाउन हामी तत्पर छौ” मुख्यमन्त्री थापाले भन्नुभयो । प्रदेशको भुगोल र वातावरण सुहाउँदो उत्पादनको लागि प्रदेश सरकारले कार्यक्रम अघि सारेको मुख्यमन्त्री थापाले बताउनुभयो ।
कार्यक्रम उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतीले प्रदेश सरकार उद्योग प्रवर्द्धन र ब्यवसायिकतामा ध्यान दिने बताउनुभयो । राज्यलाई हरेर उत्पादनमा आत्मानिर्भर बनाउने प्रयासमा लागेको उहाँले बताउनुभयो । “औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्र आधार” भन्ने मुल नाराकासाथ १२ औं उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट र उत्कृष्ट उद्योगले आफ्नो उत्पादनको प्रदर्शनी समेत गरेका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट उद्यमी थापाले राज्यले उद्यमको वातावरण सहज बनाउंदै गएको भन्दै खुसी व्यक्त गर्नुभयो । आफ्नो रोजिरोटी चलाउन व्यवसाय गर्दा सम्मानित त पुरस्कृत हुंदा अझै कामप्रति हैसला बढेको उद्यमी थापाले बताउनुभयो । यसैगरी उत्कृष्ट उद्यमी रसुवा जिल्लाका चुडामणिा पौडेल भन्नुभयो “म ६० बर्षको मान्छे महीनामा २ लाख बचत गर्छु बिदेश किन जाने ।” छोराछोरी बिदेश पठाउने बाआमालाई शहरको सानो कोठामा राख्ने गर्नु देशकै लागि घाटा हुने बताउनुभयो ।” उहाँले भन्नुभयो “सीप अनुसार ठाउँ अनुसार उद्यममा जोडिनुस ।”


