मकवानपुर । महिला तथा मानवअधिकार विरुद्ध हुने घटनाको सवालमा खबरदारी गर्दै सधै कार्यक्षत्रमा देखिने मकवानपुरका अधिकारकर्मीहरु बुधबार झन् धेरै व्यस्त देखिए । बुधबारबाटै सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा उनीहरुको व्यस्तता बढेको थियो ।
पहिलो दिन मकवानपुरका जिल्लाका मानवअधिकार रक्षकहरुले जिल्लाको हिंसाको सवालमा भएका घटनाहरुबारे अन्तरक्रिया, सेतो रिवन वितरण कार्यक्रम गरे । साँझ परेसँगै बजारको मुख्यचोकमा दीपावली गरे । लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ यसवर्षको १६ दिने अभियान बुधबारबाट सुरु भएको छ ।
सन १९६० को नोभेम्बर २५ का दिन डोमानिकन रिपब्लिक राज्यका मिरावल परिवारका ३ साहसिक दिदी बहिनी पार्टिया, मनिर्भा र मारियाको तात्कालिन त्रिजुलो सरकारले गरेको हत्याको दिनको संझनामा बुधबार साँझ दीपावली गरिएको हो ।
बुधबार अर्थात २५ नोभेम्बारबाट १० डिसेम्बर अर्थात मंसिर २४ गतेसम्म यो अभियान जारी रहन्छ । ति ३ बहिनीहरुले तत्कालिन सरकारको तानाशाही शासनका विरुद्धमा आवाज उठाएको कारण उनीहरुका श्रीमानलाई सरकारले बन्दी बनाएको थियो ।
श्रीमानहरुलाई जेलमा भेटेर फर्कने क्रममा उनीहरुको निर्मम हत्या गरी दुर्घटनाको संज्ञा दिईएकोमा अधिकारकर्मीले त्यस घटनालाई स्वीकार गरेनन् र त्यसको विरुद्ध आवाज उठाईरहे। यसैको सम्झनामा नेपालमा पनि २०६६ भदौ २६ को निर्णय अनुसार सन् २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्ष” को रुपमा मनाउन घोषणा भएको थियो ।
सो बमोजिम “लैङ्गिक हिंसा विरुद्ध राष्ट्रिय कार्ययोजना २०१० समेत १ वर्षका लागि कार्यान्वयन भईसकेको छ । सो कार्ययोजनाको कार्यान्वयनबाट केही नीतिगत तथा संरचनागत उपलब्धि हासिल भएता पनि लैङ्गिक हिंसा तथा विभेद सामाजिक विकृतिजन्य समस्या भएकोले यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सहित दीर्घकालिन योजनाको ल्याउनुु पर्ने माग गरिदै आएको छ ।
अभियानको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले हिसाले विरुद्ध स्थानीय सरकार सधै तत्पर रहेको बताउनुभयो । अभियान बाहेकका दिनमा पनि अभियन्ताहरू सधै कार्यक्षेत्रमा रहनुपर्ने र यसको लागि स्थानीय सरकारले सधै समन्वय गर्ने लामाले बताउनुभयो । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हिंसाको घटना विरुद्ध अझै खुलेर आवाज बाहिर नआएको बताउनुभयो ।
मुलुकको विकास र समृद्धिको लागि हिंसा उन्मुलन अनिवार्य भएको बताउनु हुँदै अधिकारीले भन्नुभयो “जुनसुकै प्रकारको लैङ्गिक हिंसा मानवता विरोधि गतिविधि हो, यो सहने हैन प्रतिकार गर्नेपर्छ।” हिंसा मुक्त बाँच्न पाउनु मानव अधिकार भएको उहाँले बताउनुभयो। गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटाले अभियान बाहेक पनि सामूहिक प्रयास जारी रहेको बताउनुभयो ।
आफूले हिंसा नगर्ने, नसने र प्रतिकार गर्ने अभियान सबै जारी रहेको बताउनुभयो । महिलाको चौतर्फि विकासको लागि हातेमालो आवश्यक भएको हेटौंडा उपमहानगरपालिका महिला विकास महाशाखा प्रमुख सत्यदेवी अधिकारीले बताउनुभयो ।
अभियान अन्तर्गत मानव अधिकार संरक्षण तथा मानव वेचबिखन विरुद्धको संजाल, नेपाल मानवअधिकार संगठन,हिमराइट्स मकवानपुर, माइती नेपाल,मकवानपुर महिला उतथान समूह,साना हातहरु, नारी संरक्षण केन्द्र, मानवअधिकार रक्षा लागि एकल महिला समुह, इन्सक बागमती प्रदेशलगायतको समन्वयमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले सबै प्रकारको हिंसा विरुद्ध शुन्य सहनशिलताको लागि स्थानीय सरकार, प्रहरी, प्रशासन, राजनीतिक दलहरुको समेत सहकार्य र ऐक्यवद्धता आवश्यक भएको बताए ।
हिंसाजस्ता आपराधिक कार्यमा संलग्नलाई राजनीतिक दलको संरक्षण हुने गरेको आरोप प्रभावितहरुले लगाउँदै आएका छन् । यसैबीच मकवानपुर जिल्लाका प्रहरी प्रमुख श्याम खड्काले हिंसा गरेको कसुर प्रमाणीत हुनेलाई कुनै पनि बाहानामा उन्मुत्ति नदिने बताउनु भयो ।
मकवानपुर जिल्लामा अभियानको क्रममा ६ वटा विद्यालय सचेताना कार्यक्रम, राजमार्गमा सडक नाटक, स्वास्थ्य शिविर, घटना समिक्षा,कार्यलायहरुमा प्रचारप्रसार ब्यानर प्रदर्शनी जस्ता कार्याक्रम गर्ने गरी तयारी भएको मानव अधिकार रक्षक तथा मानव वेचविखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष आरती पाठकले बताउनु भयो ।

