मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका ५ मा रहेको एक होटलमा आगलागी हुँदा ४३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौडा ५ पिप्ले चोक नजिकै रहेको द डोर होटलमा आगलागी भएको हो । मगलबार मध्यरात १२ः२० बजे आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागि हुनुको एकिन कारण नखुलेको प्रहरीले जनाएको छ । विजुलीको तार सर्ट भई आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ, तर एकीन छैन ।
आगो निभाउने क्रममा होटेल सञ्चालक हेटौंडा ५ बस्ने २९ वर्षिय आशिष गौतम र दमककल कर्मचारी ३५ वर्षीय नविन नेपालको हातमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरेको प्रहरीले जनाएको छ । आगलागिबाट होटलको भान्साकोठा र हलमा भएको सम्पुर्ण सामन जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।


